सिटी एक्सप्रेसको आम्दानी ५६ करोड, रेमिट्यान्स बजारमा १४ प्रतिशत हिस्सा
कम्पनीले गत आर्थिक वर्षमा ५६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.०६ प्रतिशत कम हो ।
काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्सप्रेस मनि ट्रान्सफरको आम्दानीमा सामान्य गिरावट आएको छ । कम्पनीले गत आर्थिक वर्षमा ५६ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १.०६ प्रतिशत कम हो । सन् २०२५ मा कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको आम्दानी पछिल्ला वर्षहरूमा निरन्तर घट्दै आएको देखिन्छ । सन् २०२४ मा ६६ करोड ४० लाख, सन् २०२३ मा ७६ करोड ८० लाख र सन् २०२२ मा ८२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको कम्पनीको वित्तीय विवरणले देखाउँछ ।
रेमिट्यान्स क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका कारण कमिसन आम्दानी घट्दा कम्पनीको कुल आम्दानी प्रभावित भएको हो । साथै, नगद भुक्तानीको सट्टा रकम सिधै लाभग्राहीको बैंक खातामा जम्मा गर्ने प्रवृत्ति बढ्दै जाँदा पनि कमिसन आम्दानीमा दबाब परेको कम्पनीले जनाएको छ ।
यद्यपि, कम्पनीको सञ्चालन मार्जिनमा भने सुधार देखिएको छ । सन् २०२५ मा २३.७९ प्रतिशत रहेको सञ्चालन मार्जिन गत आर्थिक वर्षमा बढेर २७.६५ प्रतिशत पुगेको छ ।
कम्पनीको वित्तीय सूचकमा पनि केही सुधार देखिएको छ । सन् २०२५ मा ४ गुणा रहेको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थको अनुपात गत वर्ष ३.४४ गुणामा झरेको छ । त्यस्तै, करेन्ट रेसियो ०.९८ गुणाबाट बढेर १.०५ गुणा पुगेको छ । कम्पनीको ऋण सेवा कभरेज अनुपात ४.२९ गुणा र ब्याज कभरेज अनुपात ४ गुणा रहेको छ ।
सन् २००७ मा स्थापना भएको सिटी एक्सप्रेस नेपाल राष्ट्र बैंकबाट रेमिट्यान्स कारोबारको अनुमति प्राप्त कम्पनी हो । सिटी एक्सप्रेस ग्रुपअन्तर्गत सञ्चालित यस कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै नेपालमा विप्रेषण सेवा उपलब्ध गराउँदै आएको छ ।
कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ छ । यसमा डोलराज शर्मा, चन्द्र टन्डन, हेकबहादुर गुरुङ र महेशकुमार श्रेष्ठको समान २०/२० प्रतिशत सेयर स्वामित्व रहेको छ । त्यस्तै, सुनिलपानी गौतमको १५.५० प्रतिशत र कृष्णराज पौडेलको ४.५० प्रतिशत हिस्सा छ ।
कम्पनीले अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँ बराबरको रेटिङ गराएको छ । देशभर २५ हजारभन्दा बढी एजेन्ट रहेको कम्पनीको विप्रेषण बजारमा करिब १४ प्रतिशत हिस्सा रहेको छ ।
व्यवसाय विस्तार र वित्तीय सेवाका अन्य क्षेत्रमा प्रवेश गर्ने रणनीतिअनुसार कम्पनीले स्मार्ट च्वाइस टेक्नोलोजिजमा ८ करोड ७२ लाख रुपैयाँ र सिटी वालेटमा १० करोड रुपैयाँ लगानी गरेको छ ।