आयातित वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गर्नुपर्छः मन्त्री भण्डारी

न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ ।


काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गर्नुपर्ने बताएका छन् । नेपाल गुणस्तर परिषद्को ११५औं बैठकमा उनले नेपालमा आयात हुने सबै वस्तुमा ‘नेपाल गुणस्तर चिह्न’ (एनएस) प्रमाणपत्र अनिवार्य बनाइनुपर्ने बताएका हुन् ।


उनले भने, ‘नेपालमा दैनिक उपभोग्यदेखि औद्योगिक प्रयोजनका धेरै सामान विदेशबाट आयात भइरहेका छन् । तीमध्ये धेरै वस्तु गुणस्तरहीन छन्, जसको प्रत्यक्ष असर आम उपभोक्ताको स्वास्थ्य, सुरक्षा र आर्थिक हानिमा देखिएको छ । त्यसैले अब नेपाल आउने वस्तुहरूमा अनिवार्य रूपमा नेपाल गुणस्तर लागू गरिनुपर्छ ।’


न्यून गुणस्तरका वस्तुहरू नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय भएको र यस्तो कार्यले दीर्घकालमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उनको भनाइ छ ।


सो बैठकमा नेपालमै उत्पादन हुने वस्तुहरूमा कसरी ‘नेपाल गुणस्तर चिह्न’ प्रदान गर्ने, गुणस्तर मापनका मापदण्ड सुधार गर्ने, बजार अनुगमन प्रभावकारी बनाउने तथा गुणस्तरहीन वस्तु आयातमा कसरी नियन्त्रण गर्ने भन्ने विषयमा समेत छलफल भएको बताइएको छ ।