भुक्तानी प्रदायकलाई लाभांशमा कडाइ, विभिन्न कोषहरुमा रकम छुट्याउनुपर्ने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकलाई नयाँ निर्देशन जारी गरेको छ । खासगरी भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीले जोखिम बहन कोष, जगेडा कोष र पूर्वाधार विकास कोषमा पर्याप्त रकम जम्मा गरेपछि लाभांश वितरण गर्न पाउने नीति अघि सारेको हो । आइतबार भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गर्दै नियमकीय पुँजी कायम गर्न आधार निर्माण हुने गरी एवम् कारोबारको निरन्तर अभिवृद्धि साथै जोखिम वहन गर्ने क्षमता विकासका लागि स्रोतको व्यवस्थापन र व्यवसायको निरन्तरता योजना कार्यान्वयनमा सहयोग पुग्ने गरी लाभांश वितरण गर्न भनेको हो । संस्थाले नियमाकीय पुँजी कायम गर्ने सम्बन्धमा संस्थाको योजना, नगद लाभांश तथा सयर लाभांश सम्बन्धी नीतिहरु समावेश गरेर मात्रै लाभांश नीति तर्जुमा गर्नुपर्ने पनि नीतिमा उल्लेख छ ।
लाभांश वितरण गर्दा सञ्चित मुनाफा ऋणात्मक हुन नहुने, नाफा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्रै लाभांश घोषणा गनुपर्ने, सयर प्रिमियम एवम् बार्गेन पर्चेज गेनबाट नगद लाभांश घोषणा गर्न नपाइने एवम् नेटवर्थ ऋणात्मक हुन नहुने सर्त राष्ट्र बैंकले तोकेको छ ।