एमालेको केन्द्रीय कमिटी बैठक सुरु
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ ।
बैठकको सुरुमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एक वर्ष, पार्टीको सचिवालय र पोलिटब्युरो बैठकका निर्णयबारे जानकारी गराउनेछन् ।
महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ । विधान मस्यौदा समितिका संयोजक पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सचिवालय र पोलिटब्युरोले पास गरेको विधान केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
प्रस्तावित विधानका बारेमा इच्छुक केन्द्रीय कमिटी सदस्यलाई बढीमा तीन मिनेटमा आफ्ना धारणा राख्न समय उपलब्ध गराइने कार्यसूची रहेको छ । सचिवालय, स्थायी कमिटी र पोलिटब्युरोबाहेक एमालेमा करिब २ सय ३० जना केन्द्रीय सदस्य छन् ।
पार्टीको १ साउनमा बसेको सचिवालय, २ र ३ गते बसेको पोलिटब्युरो बैठकले ७० वर्षको उमेर हद र एउटै पदमा दुई कार्यकालको प्रावधान हटाएको छ । केन्द्रीय कमिटीले पास गरेको विधान मातहतमा कमिटी कमिटीमा थप सुझावका लागि पठाउने तयारी एमालेको छ ।
यही बैठकले पूर्वराष्ट्रपति विद्या भण्डारीबारे पनि निर्णय लिनेछ ।