सिटी होटेलले हकप्रद सेयर निष्कासन अनुमति पायो, नोक्सानीमा छ १७ करोड
१ अर्ब ६७ करोड ऋण तिर्ने योजना
कठमाडौं । सिटी होटेलले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।
व्यावसायिक घराना गोल्यान ग्रुपद्वारा सञ्चालित सिटीलाई नियामक नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजीको ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिएको हो ।
चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको होटेलले अब १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँबराबरको १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । हकप्रद सेयर निष्कासनपछि होटेलको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म होटेल १७ करोड ३८ लाख रुपैयाँ घाटामा छ । गत वर्ष होटेल १५ करोड ३७ लाख रुपैयाँ नोक्सानमा थियो । होटेल सञ्चालनदेखि नै लगातार नोक्सानीमा छ । चालु ९ महिनाको अवधिमा होटेलको आम्दानी ३७ करोड रुपैयाँ छ । सिटीको दीर्घकालीन ऋण ३ अर्ब २५ करोड ५२ लाख रुपैयाँ छ । त्यस्तै, सञ्चालकलाई पेस्कीबापत तिर्नुपर्ने रकम ५३ करोड ३५ लाख रुपैयाँ छ ।
२०८१ पुस २६ गते आयोजित होटेलको साधारणसभाबाट ८० प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरिएको थियो । हकप्रद सेयरबाट संकलित रकम ऋण तिर्न खर्च गर्ने होटेलले जनाएको छ ।
सिटी पाँचतारे होटेल हायात ‘प्लेस’बाट अपग्रेड भएको छ । होटेल हायात प्लेस ब्रान्डअन्तर्गत सञ्चालन हुँदै आएको थियो । हाल हायात सेन्ट्रिक ब्रान्डअन्तर्गत सञ्चालनमा छ । यो नेपालको पहिलो हायात सेन्ट्रिक ब्रान्डको होटेल भएको छ । सेन्ट्रिक अमेरिकी होटेल चेन हायातको लक्जरी ब्रान्ड हो ।
सिटी ग्रुपले ४ अर्ब रुपैयाँ लगानीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा होटेल वेद सञ्चालनमा ल्याउँदै छ । होटेलको पूर्वाधार लुम्बिनीको मायादेवी गाउँपालिकामा बनिरहेको छ । होटेलमा २ अर्ब ८० करोड बैंकको ऋण र १ अर्ब २० करोड ६० लाख रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी गरिनेछ ।