सिड्का र नेपालबीच चार परियोजनामा सम्झौता, चीनले के केमा गर्छ लगानी ?
अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तापश्चात् ४ वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीअनुसार भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा चीनले सघाउनेछ ।
काठमाडौं । रसुवामा भोटेकोशी नदीको बाढीले क्षति पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का)का अध्यक्ष चेन सियाओदोङ्गबीच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्री पौडेलको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख भएअनुसार भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रक्रिया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका थिए ।
असार २४ गते बिहान तिब्बत क्षेत्रबाट बगेर आउने लेन्दे र केरुङ खोलाको बाढी भोटेकोशी नदीमा मिसिएर शक्तिशाली बन्दा ६ चिनियाँ नागरिकसहित १७ जना बेपत्ता छन् भने ११ शव तथा मानवअंग फेला परेका छन् ।
सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सक्रियता र सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।
अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद व्यक्त गरेका थिए ।
अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीअनुसार भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा चीनले सघाउनेछ ।