पश्चिम सेती कोरिडोरमा प्रसारणलाइन र जलविद्युत् आयोजना निर्माण गरिने

काठमाडौं । पश्चिम सेती कोरिडोरमा जलविद्युत् विकास र ४०० किलोभोल्ट (केभी) प्रसारण लाइन निर्माण गर्न विभिन्न संस्थाहरूबीच समझदारी भएको छ । ऊर्जा मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त समझदारी भएको हो । 

पश्चिम सेती कोरिडोरअन्तर्गतका जलविद्युत् आयोजना र प्रसारण पूर्वाधार निर्माणमा सहकार्य गर्ने उद्देश्यले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड ९एचआईडीसीएल०, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड, चैनपुर सेती जलविद्युत् कम्पनी लिमिटेड, चिलिमे सेती हाइड्रोपावर कम्पनी लिमिटेड र समृद्धि इन्जी लिमिटेडबीच आपसी समझदारी भएको छ ।

एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापा, प्रसारण कम्पनीका प्रमुख कार्यकारी अधिकृत सागर श्रेष्ठ, चैनपुर सेतीका प्रमुख कार्यकारी अधिकृत अनिलभक्त श्रेष्ठ, चिलिमेका नारायणप्रसाद आचार्य तथा जलविद्युत् उद्यमी शैलेन्द्र गुरागाईंलगायतले समझदारीपत्रमा हस्ताक्षर गरे।

समझदारीअनुसार, बझाङ–निलेगडा–दोधाराको ४०० केभी अन्तरदेशीय प्रसारण लाइन तथा सो लाइनमा जोडिने २१० मेगावाटको चैनपुर सेती, ८७ मेगावाटको सेती नदी–३ र २१६ मेगावाटको माथिल्लो सेती जलविद्युत् आयोजनाको निर्माण, वित्तीय स्रोतको परिचालन र सञ्चालनमा बहुपक्षीय सहकार्य हुनेछ ।