ब्रोकर र स्टक डिलरको कुल संख्यामध्ये कम्तीमा १५ प्रतिशतको स्थलगत अनुगमन हुने
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) तथा धितोपत्र व्यापारी (स्टक डिलर)को कुल संख्याको कम्तीमा १५ प्रतिशतले स्थलगत अनुगमन गर्ने बताएको छ । बोर्डले मंगलबार चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
‘धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको कुल संख्याको कम्तीमा १५ प्रतिशतले स्थलगत अनुगमन कार्य गरिनेछ,’ बोर्डको नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) र क्रेडिट रेटिंग कम्पनीहरूको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत अनुगमन कार्य हुनेछ ।’
बोर्डमा दर्ता सामूहिक लगानी कोष व्यवस्थापक तथा विशिष्टीकृत लगानी कोष व्यवस्थापकहरूको कुल संख्याको कम्तीमा १५ प्रतिशतको स्थलगत सुपरिवेक्षण गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ अनुसार कम्तीमा १५ सूचक संस्थाको स्थलगत सुपरिवेक्षण गर्ने पनि बोर्डले नीति तथा कार्यक्रममा राखेका छ ।