नेपालको पुँजीबजार हरियो भएको छ जुन सुखद कुरा हो : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको पुँजीबजारको रङ हरियो हुनु सुखद् कुरा भएको बताएका छन् । नेपाल चेम्बर अफ कमर्सले बुधबार काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

उनले भने, ‘नेपालको पुँजीबजारको रङ हरियो भएको छ । यो सुखद् कुरा हो । सुस्ताएको, आरालो लागेको बजार आज एउटा आशालाग्दो भएको छ । केही नयाँ आशा र सम्भावना पनि देखाएको छ । तथ्यांकले पछिल्लो समयमा हामीले वस्तुको निर्यातमा पनि सफलता पाएका छौं । यसमा पनि निजी क्षेत्रको योगदान छ । सरकारले गरेको नीतिगत सुधारका कारण आज केही सकारात्मक सन्देशहरु प्राप्त भएका छन् । हाम्रो बजार र व्यवसाय २० प्रतिशतको मुनाफामा सिमित थियो । कुनै पनि व्यवसायले आफ्नो मुनाफाको २० प्रतिशत मात्रै लिन पाउँथ्यो । त्योभन्दा माथि भए कालोबजारी भएको ठहरिन्थ्यो । त्यही भएर हामीले कालोबजारी ऐनलाई खारेज गर्यौं । यसले बजार र व्यवसायीलाई उत्साही बनाएको छ । व्यवसायीको लगानीमै वातावरणको माग हामीले सम्बोधन गरेका छौं ।’

उनले सरकार निजी क्षेत्रको लगानी संरक्षणका लागि प्रतिबद्ध रहेको बताए । मन्त्री भण्डारीले वस्तुको गुणस्तरीयता कायम गर्न तथा कालोबजारी रोक्न एमआरपी अनिवार्य गरिएको पनि बताए ।