नेताको भोट बढाउन अब विमानस्थल बनाउनु हुँदैन : योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले अब कुनै पनि नेताको भोट बढाउनका लागि नयाँ विमानस्थलहरू बनाउनु नहुने बताएका छन् । बिहीबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथिको छलफलमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

सांसद भट्टराईका अनुसार, नेपालमा हाल ५५ वटा विमानस्थल छन्, तर त्यसमध्ये ३२ वटा मात्रै सञ्चालनमा छन् । यस्तो अवस्थामा पनि सरकारले नयाँ विमानस्थल थप्ने नीति तथा कार्यक्रम ल्याउनु उचित नभएको उनको भनाइ छ । उनले अब राजनीतिक दबाबमा विमानस्थल थप्ने फेसन अन्त्य गर्नुपर्ने र भएका विमानस्थलको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।

भट्टराईले नेपालको हवाई सेवाको इतिहासमा सन् १९४९ देखि हालसम्म १०८ वटा दुर्घटना भइसकेको र ९५९ जनाले ज्यान गुमाएको तथ्याङ्क प्रस्तुत गर्दै अब दुर्घटनाहरू रोक्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिए । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अबको प्राथमिकतामा पर्नुपर्ने बताए ।