त्रिभूवन बिमानस्थल भित्रको हवाई इन्धन डिपो सारिने, आइओइले बुझायो डिपिआर

डिपिआरअनुसार गुह्वेश्वरीतर्फको नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको नयाँ डिपो स्थानान्तरण हुनेछ ।

नेपाल आयल निगमले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट हवाई इन्धन डिपो सारिने भएको छ । निगमको सिनामंगल डिपो स्थान्तरणका लागि पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) विहीबार निगमलाई हस्तान्तरण गरसँगै सिनामंगल डिपो सारिने तय भएको हो । निगमले २०८४ मंसिरभित्र डिपो स्थानान्तरण गरिसक्ने जनाएको छ । नयाँ डिपो बनाउनका लागि निगमले आगामी भदौभित्र बोलपत्र (टेण्डर) आब्हन गर्ने जानकारी दिएको छ । 

डिपिआरअनुसार गुह्वेश्वरीतर्फको नेपाल नागरिक उड्डयन प्राधिकरणले उपलब्ध गराउने ५० रोपनी क्षेत्रफलको जग्गामा निगमको नयाँ डिपो स्थानान्तरण हुनेछ । गत मंसिरमा निगमको सिनामंगल डिपो स्थान्तरणका लागि आइओइसँग डिपिआर निर्माणका लागि सम्झौता भएको थियो । 

डिपिआर हस्तान्तरण कार्यक्रममा निगमको सिनामंगल डिपोका प्रमुख प्रदीपकुमार यादवले अहिले भएका डिपोहरु पुराना मोडलको रहेको बताउँदै अब बन्ने परियोजना अत्याधुनिक प्रविधिको हुने बताए । यादवकाअनुसार सरकारी इन्जिनियरहरुले पहिलो पटक ६ अर्ब ५४ करोड रुपैयाँ लागत भएको परियोजनाको डिपिआर निर्धारित समयमै बुझाएका छन् । यसअघि पनि निगमले आइओइकै सहयोगमा पोखरामा एयर डिपो बनाएको थियो । जहिले पनि एसियाली विकास बैंक (एडीबी), विश्व बैंकको सहयोग लिने र बाहिरका विज्ञहरुलाई समावेश गरेर डिपिआर बनाउँदा समयमा काम हुननसकेको परिवेश यादवले स्मरण गरेका थिए । 

कार्यक्रममा आइओइका सहप्राध्यापक डा. सुरज लामिछानेले निगमसँगको सम्झौताअनुसार समयमै काम सकेर डिपिआर बुझाइएको बताए । ‘इन्जिनियरिङ कलेजका सम्पूर्ण प्राविधिकहरुको सहयोगमा समयमै काम सम्पन्न गरेर निगमलाई डिपिआर बुझाउन सफल भएका छौं । निगमले जुन प्रकारको इनर्जि देखायो त्यसले आगामी दिनमा नेपालका इन्जिनियरहरुलाई समेत अघि बढ्न ठूलो सहयोग मिल्नेछ’ सहप्रध्यापक लामिछाने भने ।

त्रिभूवन अन्तर्रास्ट्रिय विमानस्थलसँगै जोडिएका कारण निगमको डीपोले विमानस्थललाई जोखिम बढाएको भन्दै आलोचना भइरहेको सन्दर्भमा नयाँ डिपो बनाउने योजना अघि सारिएको हो । हालको स्थानमा रहेको डिपोका कारण स्थानीय बासिन्दासमेत जोखिममा छन् । विमानस्थलको ट्याक्सी वे समेत डिपो भएको स्थानमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन ।