ग्रीन डेभलपमेन्टले ७ करोड कमाउँदा वितरणयोग्य नाफामा ९५ प्रतिशतको बृद्धि

ग्रीन डेभलपमेन्ट बैंकले पछिल्लो एक वर्षमा ६ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफासँगै वितरणयोग्य नाफामा पनि उल्लेख्य बृद्धि गरेको छ ।

बैंकले अघिल्लो आर्थिक वर्षको ३ करोड ८६ लाख रुपैयाँको तुलनामा गत वर्ष ७९.५३ प्रतिशतले नाफा बढाएको हो । खासगरि खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा र वितरणयोग्य नाफा बढ्न पुगेको हो ।

यसअवधिमा बैंकको वितरणयोग्य नाफा ९४.७० प्रतिशत बढेर ६ करोड ७ लाख रुपैयाँ पुुगेको छ । असारमा बैंकको वितरणयोग्य नाफा १० रुपैयाँ ६७ पैसा छ भने प्रतिशेयर नेटवर्थ (कितावी मूल्य) १ सय २२ रुपैयाँ ११ पैसा प’गेको छ । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १ पैसाबाट बढेर १२ रुपैयाँ १८ पैसा पुगेको छ । यसअवधिमा बैंकको मूल्य आम्दानी अनुपात १२२.०७ गुणा छ ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.७३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १३.०१ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १९.२६ प्रतिशत, सञ्चालन नाफा ७२.७९ प्रतिशत बढेको छ भने इम्पेरमेन्ट चार्ज २ करोड ८९ लाख रुपैयाँबाट घटेर ६८ लाख रुपैयाँमा सीमित भएको छ । ५६ करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १२ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । गत वर्षसम्ममा बैंकले ६ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।