नेप्सेमा ५२ अंकको पहिरो, साढे १६ अर्बमा खुम्चियो कारोबार
मंगलबार मात्रै गत वर्ष साउन ३१ गतेको ३०००.८१ अंकको मनोवैज्ञानिक त्रासलई तोडेको सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधबार भने उच्च अंकले घटेको छ । ब्धबार नेप्सेमा पहिरो मात्र गएको छैन कारोबार रकममा पनि गिरावट देखिएको छ । मंगलबार औसत मूल्य समायोजनपछि ३०.७६ अंकले बढ्दै ३००२.०७ अंकमा रोकिएको थियो ।
बुधबार प्रिओपन सेसनमा ६ अंकले बढेको नेप्से नियमित कारोबारको सुरुवाती ११ मिनेटमा ३०२०.१७ सम्म पुगेको थियो । तर, त्यसपछि भने बजार निरन्तर घट्न थाल्यो र बीचबीचमा वाउन्सव्याकको सम्भावना देखिएपनि सफल हुन सकेन र अन्तिममा ५२.८७ अंकले घट्दै २९४९.१९ अंकमा रोकिएको छ । औसत समायोजनपछि भने ४७.९३ अंकले घट्न गएको छ ।
२ सय २६ कम्पनीको सेयर मूल्य गिरावट आउँदा नेप्से उच्च अंकले घटेको हो । त्यसो त सबैभन्दा बढी मूल्य घट्ने ग्रीन डेभलपमेन्ट बैंकको मूल्य पनि ८.०४ प्रतिशतले घटेको छ । घटेको बजारमा पनि सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुधबार २३ कम्पनीको मूल्य बढेको छ ।
बुधबार १६ अर्व ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जवकी मंगलबार १८ अर्व ५२ करोड रुपैयाँबराबरको सेयर खरिद विक्री भएको थियो ।