माघे संक्रान्तिः संस्कार, आस्था र स्वादले जोडिएको पर्व
यसकारण छ विशेष
माघी पर्वमा खासगरि तरुल, चाकु, सख्खरखण्ड, पिडालु, तिलौरी, खिचडी खाने गरिन्छ । तरुल, सख्खरखण्ड, पिडालुहरुलाई पुषको अन्तिम दिन नै पकाएर राख्ने र माघ १ गते खाइने हुनाले 'पुषमा पाके माघमा खाके' भन्ने पनि चलन छ ।
माघे संक्रान्तिलाई हिमाल, पहाड र तराईमा बसोबास गर्ने जातजातिहरुले आ–आफ्ना परम्परा र विशेषताअनुसार मनाउने गरेको पाइन्छ । यसको नाम पनि जात, धर्म, स्थानअनुसार फरकफरक रहेको छ । यसलाई माघे संक्रान्ति, तिला संक्रान्ति, मकर संक्रान्ति, खिचरा संक्रान्ति र माघी भन्ने गरिन्छ ।
ज्योतिष रविराज आचार्यका अनुसार माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै 'मकर संक्रान्ति' भनिएको हो । माघ महिना धर्म, अर्थ, काम र मोक्ष चार किसिमका पुरुषार्थले सिद्ध भएको र साधना गरिने महिना हो । त्यस्तै आजको दिन स्नान, जप, तप, ध्यान साधना, दान गर्ने पुण्य मिल्ने उनको भनाई छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ । त्यस्तै आजको दिन तिलको होम र दान गर्नाले वा खानाले व्यक्ति कहिल्यै असफल हुँदैन भन्ने धार्मिक विश्वास पनि रहेको छ । धार्मिक दृष्टिले मात्र होइन, वैज्ञानिक तबरबाट पनि माघे संक्रान्तिलाई उत्तिकै महत्वपूर्ण मानिएको छ । डिसेम्बर २१ देखि नै रात छोटो र दिन लामो हुने भए पनि हिन्दु परम्पराअनुसार भने उत्तरायण शुरु अर्थात आजदेखि दिनभन्दा रात छोटा हुँदै जान्छ ।
माघी पर्वमा खासगरि तरुल, चाकु, सख्खरखण्ड, पिडालु, तिलौरी, खिचडी खाने गरिन्छ । तरुल, सख्खरखण्ड, पिडालुहरुलाई पुषको अन्तिम दिन नै पकाएर राख्ने र माघ १ गते खाइने हुनाले 'पुषमा पाके माघमा खाके' भन्ने पनि चलन छ । तरुलमा फाइबर, क्याल्सियम, आइरन, कपर, म्याग्नेज, फस्फरोस आदि तत्व पाइने हुनाले यी तत्वले शरिरलाई स्वस्थ राख्न र विभिन्न प्रकारको रोगबाट बचाउन सहयोगी भूमिका निर्वाह गर्छ । तरुलमा भिटामिन सी को मात्रा अत्यधिक हुन्छ त्यसकारण यसले रोग प्रतिरोधी क्षमता बढाउँछ । यसबाहेक क्याल्सियम भएका कारण यो हड्डी र दाँतका लागि पनि फाइदाजनक हुन्छ । यो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ जसले दिमाग र शरीरलाई विभिन्न प्रकारको रोगबाट बचाउँछ ।
उपत्यकाको मुख्य तरकारी बजार कालिमाटीमा मुख्यतः सर्लाही, चितवन, नवलपरासी, धादिङ, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली लगायतको जिल्लाहरूबाट तरुल आउने गर्दछ । कालीमाटी तरकारी तथा फलफूल बजारका व्यवसायीका अनुसार बजारमा घर तरुल, वन तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, मुढे तरुल, पत्ताले तरुल बिक्रीका लागि राखिन्छ । बजारमा पाइने तरुलको प्रजाति अनुसार यसको मूल्य फरक हुने गरेको छ । तरुलको मूल्य प्रतिकेजी ९० देखी १०५ रुपैयाँ, सखरखण्ड ६० देखि ८० रुपैयाँ र पिडालु ७० देखि ९० रुपैयाँमा कारोबार हुने गरेको उनीहरु बताउँछन् । तरुल, पिडालु सख्खरखण्ड स्वास्थ्यको हिसाबले पनि राम्रो हुनाले यसको व्यापार बढि हुने व्यवसायीहरुको भनाई छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारका सुचना अधिकारी विनय श्रेष्ठका अनुसार पुष महिनामा मात्रै २२ सय टनभन्दा धेरै तरुल पिडालु र खख्खरखण्ड भित्रिएको छ । पुषमा तरुल १३६१ टन, पिडालु २४६ टन र सख्खरखण्ड ५९८ टन भित्रिएको छ । सर्लाहीबाट मात्रै ५० प्रतिशतभन्दा धरै तरुल कालिमाटीमा आउँछ । श्रेष्ठका अनुसार कालीमाटीमा आउने तरुल पिडालु र खख्खरखण्ड ९२ प्रतिशत आन्तरिक र ८ प्रतिशत भने भारतबाट आयात हुन्छ ।
त्यस्तै चाकु सख्खरबाट बनाइने भएकाले प्रशस्त मात्रामा कार्बोहाइड्रेड हुन्छ । त्यस्तै चाकुमा आइरन हुने भएकाले शरीरमा रगत कम हुनबाट जोगाउनका साथै रक्तअल्पताका बिरामीलाई धेरै फाइदा गर्छ । चाकु खाँदा शरीरको रोगसँग लड्नसक्ने क्षमता विकास गर्न मद्दत पुर्याउँछ । तिलमा प्रशस्त मात्रामा क्याल्सियम र भिटामिन बी पाइने हुनाले यसले हाम्रो शरीरलाई उर्जा दिन्छ । जाडोमा तिलको सेवनले शरीर तथा मस्तिष्क दुवैलाई फाइदा पुर्याउँछ ।
मुख्यतया काठमाडौंको टोखा र पाटन लगायतका क्षेत्रमा चाकुको उत्पादन र व्यापार बढी हुन्छ । टोखामा हाल १४ वटा उद्योग सञ्चालनमा छन् जसमा सादा चाकु, मसला चाकु, सेतो–कालो लड्डु, बम्बे लड्डु, भुजा लड्डु, बदाम लड्डु लगायत उत्पादन हुने गर्दछ । चाकुको तौलअनुसार यसको मूल्य निर्धारण हुने गर्दछ । टोखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठका अनुसार हरेक वर्ष चाकुको माग बढ्ने गरेको छ । जसका कारण माग धान्न नै गाह्रो हुने अवस्था रहने गरेको छ । टोखामा राम्रो र शुद्ध चाकु पाउने हुनाले माग दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ । पोहोरको तुलनामा भने यो वर्ष चाकु केही महँगो भएको तर यसले किसानलाई भने फाइदा पुगेको उनको भनाइ छ । टोखामा उत्पादन हुने चाकुहरु हाल बाहिरी देशहरुमा समेत निर्यात हुने गर्दछ । श्रेष्ठका अनुसार अहिले कुनै निश्चित समुदायले मात्र नभई सबै नेपालीहरुले यो पर्व मनाउने हुँदा चाकुको माग बढी भएको हो ।
थारुहरुको नयाँ वर्ष
थारुहरुले आजको दिनलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । नेपालको २२ वटा जिल्लामा थारूहरुको बसोबास रहेको छ । थारुहरुले आज नयाँ योजना बनाउने, कामको समीक्षा गर्ने, नयाँ नाता गाँस्ने, पुरानो नातालाई सुमधुर बनाउने, घरमा नयाँ काम गर्ने व्यक्ति थप्ने वा हटाउने र थकान मेट्ने हेतुले माघ १ गते नयाँ वर्षका रूपमा मनाउने प्रचलन आएको हो । वि.सं. २०५९ सालदेखि नेपाल सरकारले थारूहरूको माघीपर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता प्रदान गरेको छ ।
वर्षभर नबोलेकाहरु समेत माघी पर्वका अवसरमा बोचचाल सुरुवात गर्दछन् जसले गर्दा समाजमा सद्भाव तथा मेलमिलाप कायम हुने गरेको छ । त्यस्तै पुसको अन्तिम दिन जिता मार्ने र माघ १ गते बिहानै उठेर नजिकैको नदी वा खोलामा गएर नुहाउने र फर्किएर देउताको कोठामा गएर निस्राउ छुने र छोइसकेपछि आफूभन्दा ठूलालाई दर्शन गर्दै आशीर्वाद लिने र सानालाई आशीर्वाद दिने गरिन्छ । सबैले छोएको र त्यसमा राखेको पैसा र चामल बिहे भएका छोरीचेलीलाई दिने चलन छ । माघको २ गते अघिल्लो दिन चेलीबेटीका नाममा अलग्याइएको 'निश्राउ' चामल, दाल, नुन, मासका साथै थप विभिन्न खाने परिकारहरु र पैसा आफ्ना चेलीबेटीलाई दिने चलन रहेको छ ।
तिला संक्रान्तिका रुपमा माघे संक्रान्ति
तराई क्षेत्रमा माघे संक्रान्तिलाई तिला संक्रान्ति÷खिचडी पर्वका रूपमा मनाइन्छ । यस पर्वमा तिल तथा चिउराको प्रयोग अत्यधिक हुने भएकाले यसलाई ‘तिलवाच्युरा’ पनि भन्ने गर्दछन् । तराईमा यस दिन खिचडीका साथै, तिल र चिउराका लड्डुलगायत परिकार बनाई देवतालाई चढाएर खाने गरिन्छ । यस दिन तिलको लड्डु अनिवार्य हुन्छ भने देवतालाई अनिवार्य खिचडीको भोग लगाइन्छ । भुटेको भुजा तथा चिउरालाई सख्खरमा मुछी तयार पारिएको लड्डु कुल देवतालाई चढाउने र यसरी तयार पारिएको लड्डु छोरीचेलीलाई कोसेली पठाउने गरिन्छ । यस दिन भकारीबाट झिकिने अन्नलाई ‘शिवअंशी’ का रूपमा गाउँघरमा रहेका शिव मन्दिरमा चढाइन्छ भने ब्राह्मणलाई अन्नदान र छोरीचेलीका लागि पनि सोही भकारीको अन्न कोसेली दिने प्रचलन छ । यसरी सबैलाई दिइसकेपछि मात्र उक्त भकारीको अन्न आफ्ना लागि प्रयोग गर्ने गरिन्छ ।
राष्ट्रिय पर्वको रुपमा माघे संक्रान्ति
२०६५ सालमा सरकारले माघ १ लाई मगर समुदायको राष्ट्रिय पर्व घोषणा गरेको थियो । मगर समुदायले माघ १ लाई नयाँ वर्षको सुरुआतका रूपमा मनाउने गरेका छन् । माघे संक्रान्तिलाई मगर समुदायले चेलीबेटी पुज्ने र पितृपूजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । पुस मसान्तको बेलुकी घरघरमा सेलरोटी, बारा बनाएर तयारी गरिन्छ र सक्खरखण्ड, तरुल पनि पुसमा पकाएर माघमा खाने भनी बेलुकी नै उसिनिन्छ । माघ १ गते घर लिपपोत गरी सबेरै खोला, पँधेरोमा गएर स्नान गरी पवित्र भएर पितृलाई ‘डिँ डाके’ अर्थात् पानी चढाइन्छ । पितृलाई पानी चढाइसकेपछि दाजुभाइहरूले भने खाली पेटमै दिदीबहिनी पुज्ने गर्छन् । चामलसहित तरुल, पुरी, मिठाइ आदि खानेकुरा र दक्षिणा राखेर दिने चलन छ । यसलाई मगर भाषामा निस्रो भनिन्छ । यस्तो निस्रो गाउँघरका दिदीबहिनीका लागि पनि बाँड्ने चलन छ । यही निस्रो लिएर दिदीबहिनीहरू भोलिपल्ट वनभोज जाने गर्छन् । डिँ डाके र निस्रो सकिएपछि खाली पेटमा सक्खरखण्ड, तरुल, खिचडी खाने गरिन्छ भने दिउँसो सुँगुर, कुखुराको मासु र मदिरापान गरेर नाचगान गर्ने चलन छ । गाउँभरिका पुरुषहरू भेला भएर तारो हान्ने चलन पनि छ ।
‘घ्यःचाकु संल्हु’का रुपमा माघे संक्रान्ति
नेवार समुदायमा माघे संक्रान्तिलाई ‘घ्यःचाकु संल्हु’का रूपमा घिउचाकु खाएर मनाउँछन् । नेवार समुदायमा चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने प्रचलन छ । माघे संक्रान्तिका दिन नेवार समुदायले बिहान सबेरै नित्य पूजा गरेपछि विभिन्न देवदेवीलाई घिउ, चाकु, साकसला र काँचो तरुल राखेर चढाउने चलन छ । त्यस्तै, पितृलाई पनि घिउ र चाकु दिने गरिन्छ । देवदेवीको पूजापछि आफूभन्दा ठुला मान्यजनबाट ज्वानो राखेर तताइएको तोरीको तेल टाउकामा लगाइदिने गरिन्छ । विवाहित चेलीबेटी यस दिन माइती बोलाई घिउचाकु खुवाउने प्रचलन छ भने प्राचीनकालदेखि नै यस दिन दानधर्म गर्ने परम्परा छ ।
माघे संक्रान्ति केवल एउटा धार्मिक पर्वमात्र नभई नेपालका विविध जातजाति, भाषा, भूगोल र संस्कृतिलाई एउटै सूत्रमा बाँध्ने साझा सांस्कृतिक उत्सव हो । सूर्यको उत्तरायण प्रवेशसँगै प्रकृति, स्वास्थ्य र समाजबीचको सन्तुलनलाई संकेत गर्ने यो पर्वले स्नान, दान, पूजा–आस्था र पारिवारिक मेलमिलापलाई विशेष महत्व दिन्छ । तरुल, चाकु, तिल, सख्खरखण्डजस्ता परम्परागत खानाले स्वास्थ्यसँगै स्थानीय कृषि र व्यवसायलाई समेत प्रवद्र्धन गरेको देखिन्छ । थारु, मगर, नेवार, मधेसीलगायत समुदायले आ–आफ्नै पहिचान, परम्परा र संस्कारका साथ मनाए पनि माघे संक्रान्तिको मूल भावना आपसी सद्भाव, सम्मान र सामाजिक एकता नै हो । विगतको समीक्षा, नयाँ सुरुआतको संकल्प र सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा यो पर्व आज पनि उत्तिकै सान्दर्भिक छ । यसरी माघे संक्रान्ति आस्था, संस्कार र स्वादको संगम बनेर नेपाली समाजको समृद्ध सांस्कृतिक विरासतलाई निरन्तरता दिइरहेको छ ।