उपायको आक्रामक विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५०० बढीलाई रोजगारी

विज्ञापन
ncell

काठमाडौं । नेपालमा ई–कमर्स, डिजिटल व्यापार र द्रुत वितरण सेवाको माग तीव्र रूपमा बढ्दै गएसँगै लजिस्टिक्स क्षेत्र पनि विस्तारको नयाँ चरणमा पुगेको छ। यही क्रममा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले पछिल्लो एक वर्षमा उल्लेखनीय व्यावसायिक वृद्धि हासिल गरेको जनाएको छ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षमा उपायले कारोबारमा ५४ प्रतिशत वृद्धि गर्दै कर्मचारी संख्या, शाखा विस्तार, वितरण क्षमता तथा पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ।

सन् २०१९ मा स्थापना भएको उपायले प्रविधिमा आधारित लजिस्टिक्स सेवा मार्फत व्यवसाय, ई–कमर्स कम्पनी, अनलाइन विक्रेता तथा उपभोक्तालाई जोड्ने लक्ष्यका साथ सेवा सुरु गरेको थियो। केही वर्षमै कम्पनीले देशभर आफ्नो वितरण सञ्जाल विस्तार गर्दै नेपालको प्रमुख लजिस्टिक्स सेवा प्रदायकमध्ये एकको रूपमा स्थापित भएको दाबी गरेको छ।

गत आर्थिक वर्षसम्म करिब ३८० कर्मचारी रहेको कम्पनीमा हाल १,५०० भन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीका अनुसार प्रत्यक्ष रोजगारीसँगै डेलिभरी पार्टनर, यातायात साझेदार तथा अन्य सेवा प्रदायकमार्फत ५,००० भन्दा बढी अप्रत्यक्ष रोजगारी समेत सिर्जना भएको छ।

त्यसैगरी, कम्पनीले आफ्नो शाखा सञ्जाल ४० बाट बढाएर ४०० भन्दा बढी शाखा तथा सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ। हाल यसको सेवा नेपालका सबै जिल्लासहित ५,००० भन्दा बढी वितरण बिन्दु सम्म पुगेको छ।

उपायका अनुसार केही वर्षअघि दैनिक करिब १,००० पार्सल वितरण गर्ने कम्पनीले अहिले औसत १५,००० पार्सल प्रतिदिन वितरण गरिरहेको छ।

कम्पनीले यो उपलब्धिको श्रेय देशव्यापी शाखा विस्तार, ई–कमर्स बजारको वृद्धि, नयाँ व्यावसायिक ग्राहक, फुलफिलमेन्ट सेवाको विस्तार तथा दैनिक पार्सल भोल्युममा भएको वृद्धिलाई दिएको छ।

उपायले काभ्रेको साँगामा १८ रोपनीभन्दा बढी क्षेत्रफलमा ४५,००० वर्गफुटको अत्याधुनिक 3PL (Third-Party Logistics) वेयरहाउस निर्माण गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार यस वेयरहाउसको कुल भण्डारण क्षमता करिब १ लाख ४० हजार वर्गफुट हुनेछ। आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यस परियोजनाबाट Storage, Inventory Management, Pick & Pack, Fulfillment तथा Nationwide Distribution लगायतका एकीकृत सेवा एउटै स्थानबाट उपलब्ध गराइनेछ।


हाल कम्पनीले काठमाडौंको पेप्सीकोलामा रहेको करिब १८,००० वर्गफुटको 3PL वेयरहाउस मार्फत सेवा सञ्चालन गरिरहेको छ।

उपायका Fulfillment Division का अध्यक्ष संगम पौडेल ले कम्पनीले तत्कालीन आवश्यकता मात्र नभई भविष्यको लजिस्टिक्स उद्योगलाई लक्षित गर्दै पूर्वाधारमा लगानी गरिरहेको बताए।

उनका अनुसार नेपाली व्यवसायलाई अझ प्रभावकारी, व्यवस्थित र विस्तारयोग्य (Scalable) लजिस्टिक्स समाधान उपलब्ध गराउने उद्देश्यका साथ आधुनिक 3PL वेयरहाउस निर्माण भइरहेको हो।

कम्पनीका AVP–Human Resources राजु केसी ले पछिल्लो एक वर्षमा कर्मचारी संख्या चार गुणाभन्दा बढी बढेको जानकारी दिँदै कम्पनीले रोजगारी सिर्जना मात्र नभई दक्ष जनशक्ति उत्पादनमा पनि प्राथमिकता दिएको बताए।

उनका अनुसार नियमित तालिम, सुरक्षित कार्य वातावरण, करियर विकास तथा कर्मचारी कल्याणलाई कम्पनीले प्राथमिकतामा राखेको छ।

उपायले हाल ई–कमर्स कम्पनी, साना तथा मझौला उद्योग, उत्पादनमूलक व्यवसाय, हाइड्रोपावर आयोजना तथा रिटेल ब्रान्डलाई End-to-End Logistics Solution उपलब्ध गराउँदै आएको जनाएको छ।

Seller Portal, Real-Time Tracking, Proof of Delivery (POD), Fulfillment Service, Air Cargo, Integration Cargo Service तथा Nationwide Distribution Network जस्ता सेवामार्फत कम्पनीले डिजिटल व्यापारलाई थप सहज बनाइरहेको दाबी गरेको छ।

कम्पनीले आगामी वर्षहरूमा देशव्यापी नेटवर्क विस्तार, थप 3PL वेयरहाउस स्थापना, फुलफिलमेन्ट सेवाको विस्तार तथा कृत्रिम बुद्धिमत्ता (AI) मा आधारित आधुनिक लजिस्टिक्स प्रविधिमा थप लगानी गर्ने योजना सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यसको लक्ष्य केवल आफ्नै व्यवसाय विस्तार गर्नु मात्र नभई नेपालको सम्पूर्ण लजिस्टिक्स प्रणालीलाई आधुनिक, प्रभावकारी र प्रतिस्पर्धी बनाउनु रहेको छ।