नेपालको नयाँ आर्थिक दृष्टिः शान्ति र ‘वेलनेस’ पर्यटनको विश्व राजधानी
लुम्बिनी र हिमालय क्षेत्रलाई अन्तर्राष्ट्रिय सम्मेलन, ध्यान शिविर, योग तथा वेलनेस कार्यक्रम र विश्वस्तरीय अनुसन्धान केन्द्रहरूको केन्द्रका रूपमा विकास गर्न सकियो भने नेपालले वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सक्छ । यसबाट होटल, यातायात, जैविक कृषि, स्थानीय व्यवसाय, रोजगारी र ग्रामीण अर्थतन्त्रमा व्यापक सकारात्मक प्रभाव पर्नेछ ।
नेपालको वर्तमान आर्थिक सुस्तता र परम्परागत पर्यटन मोडेलका सीमितताले अब देशलाई नयाँ गतिशील, दूरदर्शी र शक्तिशाली रणनीति अपनाउन बाध्य बनाएको छ । दशकौंदेखि हामीले आफ्ना हिमाल, प्राकृतिक सौन्दर्य र गौतम बुद्धको जन्मस्थललाई मुख्यतः पर्वतारोहण, धार्मिक तीर्थयात्रा र सामान्य घुमफिरको गन्तव्यका रूपमा प्रचार गर्यौं । त,र यी सम्पदाभित्र रहेको ऐतिहासिक आध्यात्मिक विरासत तथा मानसिक, शारीरिक र भावनात्मक स्वास्थ्य प्रवर्द्धन गर्ने अपार सम्भावनालाई आर्थिक कूटनीति र तीव्र गतिमा विस्तार भइरहेको विश्व पर्यटन बजारसँग जोड्न भने सकेका छैनौं ।
एक्काइसौं शताब्दीको विश्व युद्ध, भूराजनीतिक तनाव, तीव्र प्रतिस्पर्धा, चिन्ता, अवसाद र मानसिक अस्थिरतासँग जुधिरहेको छ । यस्तो विश्व परिवेशमा नेपाललाई अब केवल एउटा सानो पर्यटकीय गन्तव्यका रूपमा होइन, विश्व शान्ति, आन्तरिक शान्ति र समग्र स्वास्थ्य (वेलनेस)को केन्द्र अर्थात् ‘ग्लोबल वेलनेस हब’ का रूपमा स्थापित गर्नुपर्छ ।
यसका लागि नेपालले पर्यटनको कथा नै पुनर्लेखन गर्न आवश्यक छ । बुद्धका ज्ञान, करुणा, शान्ति, ध्यान, मानसिक स्वास्थ्य, आध्यात्मिकता र प्रकृतिलाई एकीकृत गर्दै “शान्ति पर्यटन” को समग्र राष्ट्रिय अवधारणा विकास गर्नुपर्छ ।
यस रणनीतिक परिवर्तनका लागि सबैभन्दा पहिले लुम्बिनीलाई हेर्ने र प्रस्तुत गर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ । अब लुम्बिनीलाई केवल भगवान् बुद्धको जन्मस्थलका रूपमा मात्र होइन, सम्पूर्ण मानवजातिका लागि शान्तिको मूलस्रोतका रूपमा विश्वसामु परिचित गराउनुपर्छ । बौद्ध धर्म एउटा धार्मिक परम्परासँग जोडिए पनि शान्ति, मानसिक स्वास्थ्य र आत्मिक सन्तुलन कुनै धर्म, संस्कृति वा भूगोलमा सीमित हुँदैनन् । ती सम्पूर्ण मानवताको साझा आवश्यकता हुन् ।
लुम्बिनी राजनीतिक भाषण गर्ने मञ्च होइन, यो ध्यान, आत्मचिन्तन र आत्मबोधको पवित्र भूमि हो । विश्वका नेताहरू र प्रभावशाली व्यक्तिहरूलाई भाषण गराउनुभन्दा केही मिनेट मौन ध्यान गर्न प्रेरित गर्न सकियो भने त्यसबाट विश्वभर सकारात्मक ऊर्जा र शान्तिको सन्देश फैलिन सक्छ ।
त्यसैगरी बुद्धको वास्तविक जन्मस्थलको मौलिकता र प्राकृतिक शान्त वातावरण जोगाउनु, विशाल कङ्क्रिटका मूर्ति निर्माण गर्ने प्रतिस्पर्धाभन्दा धेरै मूल्यवान् छ । मूर्ति संसारको जुनसुकै ठाउँमा बनाउन सकिन्छ, तर बुद्धको वास्तविक ऐतिहासिक जन्मभूमि ब्रह्माण्डमा एउटै मात्र छ । यही भूमि र यसको मौलिक प्राकृतिक स्वरूप नै नेपालको सबैभन्दा ठूलो ऐतिहासिक सम्पत्ति हो ।
हालको विश्व पर्यटन प्रवृत्तिले देखाउँछ कि मानिसहरू अब केवल नयाँ ठाउँ हेर्न वा प्राकृतिक दृश्यको आनन्द लिन मात्र यात्रा गर्दैनन् । उनीहरू मानसिक शान्ति प्राप्त गर्न, मानसिक स्वास्थ्य सुधार गर्न, आध्यात्मिक चेतना विकास गर्न तथा ध्यान, योग र स्वस्थ जीवनशैलीमार्फत प्रकृतिसँग पुनः जोडिन खोजिरहेका छन् ।
यही परिवर्तन नेपालका लागि असाधारण अवसर हो । संसारमा अत्यन्तै कम देशसँग नेपालजस्तो हिमालयको अनुपम सौन्दर्य, स्वच्छ प्राकृतिक वातावरण, हजारौं वर्ष पुरानो ध्यान परम्परा तथा ऋषि, मुनि र आध्यात्मिक गुरुहरूले साधना गरेको पवित्र भूमि एकैसाथ उपलब्ध छ ।
शान्ति पर्यटन भनेको केवल युद्ध रोक्ने वा राजनीतिक मेलमिलापको कुरा होइन । यो प्रकृति र आध्यात्मिक अभ्यासमार्फत मानव मन, शरीर र भावनात्मक जीवनलाई पुनः सन्तुलित बनाउने पवित्र यात्रा हो ।
नेपालसँग ठूला राष्ट्रजस्तो विशाल आर्थिक स्रोत, सैन्य शक्ति वा भूराजनीतिक प्रभाव छैन । तर हाम्रो सबैभन्दा ठूलो शक्ति हाम्रो अनुपम प्राकृतिक र आध्यात्मिक सम्पदा हो । यही सम्पदालाई नेपालको प्रमुख ‘सफ्ट पावर’ बनाउँदै विश्वमा आफ्नो विशिष्ट पहिचान निर्माण गर्नुपर्छ।
यस सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई ‘विश्व वेलनेस दिवस’ का रूपमा मान्यता दिएको अवसरलाई नेपालले रणनीतिक रूपमा उपयोग गर्नुपर्छ । काठमाडौंको कपनस्थित श्याल्पा गुम्बा तथा आर्यिका विहार परिसरमा हिज एमिनेन्स श्याल्पा तेन्जिन रिन्पोछेद्वारा विकसित हुँदै आएको ‘आह यु.बु.मि वेलनेस रिट्रिट जस्ता परियोजनालाई राष्ट्रिय महत्त्वका कार्यक्रमका रूपमा मान्यता र प्रवर्द्धन गरिनुपर्छ ।
यति ठूलो सम्भावना हुँदाहुँदै पनि नेपालले यस क्षेत्रका लागि अझैसम्म एकीकृत राष्ट्रिय दृष्टिकोण निर्माण गर्न सकेको छैन । होटल, गुम्बा, मन्दिर, आश्रम, पर्यटन व्यवसायी, स्थानीय समुदाय र सरकारी निकायहरू आ–आफ्नै सीमित दायरामा छुट्टाछुट्टै रूपमा कार्यरत छन् ।
यी सबै पक्षलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्न बलियो सरकारी नेतृत्व आवश्यक छ । तर जटिल प्रशासनिक प्रक्रिया, कानुनी अस्पष्टता, प्यान दर्तासम्बन्धी समस्या तथा कर्मचारीतन्त्रको ढिलासुस्तीले प्रगतिमा अवरोध पुर्याइरहेका छन् ।
निजी तथा आध्यात्मिक क्षेत्रले सरकारसँग मुख्य रूपमा आर्थिक अनुदान मागेका छैनन् । उनीहरूको अपेक्षा सरकारी मान्यता, कानुनी सहजीकरण, संस्थागत स्वामित्व र यो सम्पूर्ण राष्ट्रको साझा परियोजना हो भन्ने स्पष्ट राष्ट्रिय प्रतिबद्धता हो ।
छिमेकी राष्ट्रहरूले बौद्ध पर्यटनमा तीव्र लगानी गरिरहेका छन् । नेपालले यो यथार्थलाई बुझ्नुपर्छ । बुद्धको वास्तविक जन्मभूमिको रूपमा नेपालको सबैभन्दा ठूलो अवसर केवल बौद्ध धर्मको प्रचारमा होइन, सम्पूर्ण मानवतालाई जोड्ने शान्तिको सार्वभौमिक सन्देश विश्वभर फैलाउने अभियानमा छ ।
अब समय आएको छ—शान्ति पर्यटनलाई नेपालको दिगो आर्थिक विकास र दिगो वातावरण संरक्षणको शक्तिशाली आधार बनाउने ।
लुम्बिनी र हिमालय क्षेत्रलाई अन्तर्राष्ट्रिय सम्मेलन, ध्यान शिविर, योग तथा वेलनेस कार्यक्रम र विश्वस्तरीय अनुसन्धान केन्द्रहरूको केन्द्रका रूपमा विकास गर्न सकियो भने नेपालले वर्षभर उच्चस्तरीय अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न सक्छ । यसबाट होटल, यातायात, जैविक कृषि, स्थानीय व्यवसाय, रोजगारी र ग्रामीण अर्थतन्त्रमा व्यापक सकारात्मक प्रभाव पर्नेछ ।
यो महत्त्वाकाङ्क्षी दृष्टिकोणलाई व्यवहारमा उतार्न तत्काल समन्वित राष्ट्रिय कार्ययोजना आवश्यक छ ।
पहिलो चरणमा आगामी दुईदेखि तीन महिनाभित्र हिमालय क्षेत्रमा “दिगो शान्ति तथा वेलनेस पर्यटन” विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिनुपर्छ ।
यस सम्मेलनमा सरकार, होटल व्यवसायी, गुम्बा तथा आश्रमका प्रतिनिधि, पर्यटन विज्ञ, प्राज्ञ, सञ्चारमाध्यम, नेपालस्थित विदेशी राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई सहभागी गराइनुपर्छ ।
उनीहरू सबैले संयुक्त रूपमा साझा राष्ट्रिय रणनीति तयार गरी नेपाललाई विश्वको शान्ति पर्यटनको राजधानी घोषणा गर्ने ऐतिहासिक घोषणापत्र जारी गर्नुपर्छ ।
यस्तो पहलले नेपालको आर्थिक समृद्धिमा नयाँ ऊर्जा थप्नुका साथै राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने, अन्तर्राष्ट्रिय प्रतिष्ठा उकास्ने र सम्पूर्ण मानवजातिलाई आजको सबैभन्दा ठूलो आवश्यकता—दिगो र स्थायी शान्ति—प्रदान गर्ने नेपालको ऐतिहासिक भूमिका स्थापित गर्नेछ ।
