हरितालिका तीजः आस्थाको पर्वदेखि बजारको आर्थिक गतिविधि बढाउने उत्सवसम्म

विज्ञापन
ncell

हिन्दू महिलाको महान् पर्व तीज धार्मिक आस्था र परम्परासँग मात्रै जोडिएको छैन । यो महिलाले आफ्ना दुःख–सुख साट्ने, माइतीसँग भेटघाट गर्ने र आफ्ना भावना व्यक्त गर्ने पर्वका रूपमा पनि स्थापित छ । समयसँगै तीज मनाउने शैली फेरिँदै गएको छ । अहिले तीज धार्मिक र सांस्कृतिक पर्वसँगै बजारलाई चलायमान बनाउने एउटा महत्त्वपूर्ण अवसरसमेत बनेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीजमा महिलाहरूले भगवान् शिव र पार्वतीको पूजा आराधना गरी व्रत बस्ने गर्छन् । धार्मिक विश्वासअनुसार यस दिन व्रत बसेर शिव–पार्वतीको पूजा गरेमा सुख, शान्ति र पारिवारिक कल्याण प्राप्त हुन्छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले आफूले चाहेजस्तो गुणसम्पन्न पति प्राप्त हुने विश्वासमा तीजको व्रत बस्ने गरेका छन् ।

तीजसँग जोडिएको धार्मिक कथा पार्वती र महादेवसँग सम्बन्धित छ । पौराणिक कथाअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउने इच्छा राखेकी थिइन् । तर, उनका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना साथीहरूसँग आफ्नो समस्या बताइन् । त्यसपछि साथीहरूले उनलाई कसैले नदेख्ने ठाउँमा लगेर लुकाए । त्यही ठाउँमा पार्वतीले निराहार व्रत बसेर महादेवको आराधना गरेको र अन्ततः महादेवलाई पतिको रूपमा प्राप्त गरेको धार्मिक मान्यता छ ।

पार्वतीलाई उनका साथीहरूले हरण गरी लुकाएको दिन भाद्र शुक्ल तृतीया भएकाले त्यही दिनदेखि हरितालिका तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रीय मान्यता छ ।

परम्परागत रूपमा तीज तीन दिनसम्म मनाउने गरिन्छ । द्वितीयाको राति दर खाने, तृतीयाका दिन व्रत बस्ने र शिव–पार्वतीको पूजा गर्ने गरिन्छ । त्यसपछि ऋषिपञ्चमीका दिन सप्तर्षिको पूजा गरेर तीज पर्व समापन गर्ने चलन छ ।

तर, तीजको महत्त्व पूजा र व्रतमा मात्रै सीमित छैन । नेपाली समाजमा लामो समयसम्म महिलालाई आफ्नो कुरा खुलेर राख्ने अवसर थिएन । बालविवाहका कारण सानै उमेरमा विवाह गरेर अर्काको घर पुगेका महिलाले वर्षभरि माइती जानसमेत नपाउने अवस्था थियो । घरको काम, खेतीपाती र परिवारको जिम्मेवारीबीच उनीहरू आफ्ना दुःख र चाहना मनमै दबाएर बस्नुपर्ने अवस्था थियो ।

यस्तो समयमा तीज महिलाका लागि केही समय भए पनि आफ्नो घरबाट बाहिर निस्कने र माइती जाने अवसर बन्यो । दिदीबहिनी, साथीसङ्गी र आफन्तसँग भेटेर दुःख–सुख बाँड्ने, मीठो खाने र राम्रो लगाउने अवसरका रूपमा तीजको महत्त्व बढ्दै गयो । तीजका गीतमार्फत महिलाले आफूले भोगेका पीडा, घरपरिवारको व्यवहार र समाजका विभेदसमेत व्यक्त गर्न थाले ।

यसरी हेर्दा तीज मनोरञ्जनको पर्व मात्र नभई महिलाको आवाज व्यक्त गर्ने माध्यमसमेत बन्यो । समय परिवर्तनसँगै महिलाको अवस्था पनि परिवर्तन हुँदै गएको छ । अहिले महिलाहरू शिक्षा, रोजगारी, व्यवसाय र राजनीतिमा सक्रिय छन् । आफ्नो निर्णय आफैँ गर्ने र सार्वजनिक जीवनमा नेतृत्व गर्ने महिलाको सङ्ख्या पनि बढिरहेको छ ।

त्यससँगै तीज मनाउने तरिका पनि फेरिएको छ । पहिले माइतीको आँगनमा दिदीबहिनी र साथीसँग बसेर गीत गाउने र दर खाने तीज अहिले होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस तथा विभिन्न सङ्घसंस्थाका कार्यक्रमसम्म पुगेको छ । यसले तीजलाई सामाजिक पर्वसँगै व्यापार व्यवसायका लागि पनि महत्त्वपूर्ण अवसर बनाएको छ ।

तीज आउन थालेपछि कपडा, गहना, चुरा, पोते, कस्मेटिक तथा सौन्दर्य सामग्रीको माग बढ्ने गर्छ । साडी, कुर्ता तथा अन्य पहिरनको बिक्री बढ्नुका साथै सुनचाँदी व्यवसायमा पनि यसको प्रभाव पर्ने गर्छ । त्यस्तै, होटल, रेस्टुरेन्ट र पार्टी प्यालेसमा हुने दर खाने कार्यक्रमले सेवा क्षेत्रको कारोबार पनि बढाउँछ ।

यसरी तीजले बजारमा आर्थिक गतिविधि बढाउन सहयोग गर्छ । महिलाले लगाउने कपडा तथा गहनादेखि खानपान र मनोरञ्जनसम्मका क्षेत्रमा खर्च बढ्दा व्यवसायीको कारोबार बढ्ने गर्छ । विशेषगरी साना व्यवसाय गर्ने महिला तथा घरेलु उद्यमीका लागि तीज आफ्ना उत्पादन बेच्ने राम्रो अवसर बन्न सक्छ ।

तर, तीजको यही आर्थिक पक्षसँग अर्को समस्या पनि जोडिएको छ । पछिल्लो समय तीज आउनुभन्दा एक–दुई महिनाअघिदेखि नै दर खाने कार्यक्रम सुरु हुने गरेका छन् । कतिपय कार्यक्रममा आवश्यकताभन्दा बढी खर्च हुने गरेको छ । महँगा गहना, कपडा र पार्टी प्यालेसमा हुने खर्चसँगै सामाजिक सञ्जालमा आफ्नो तीजको कार्यक्रम र पहिरन देखाउने प्रवृत्ति पनि बढेको छ ।

आर्थिक रूपमा सक्षमले आफ्नो इच्छाअनुसार खर्च गर्नु ठूलो समस्या होइन । तर, त्यसको देखासिकी गर्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ । आफ्नो आर्थिक अवस्थाले नभ्याउने भए पनि अरूले गरेकै जस्तो गर्नुपर्ने दबाब सिर्जना हुँदा परिवारको अनावश्यक खर्च बढ्न सक्छ । पर्व मनाउने नाममा ऋण लिनुपर्ने अवस्था आउनु भने उचित होइन ।

पछिल्लो समय तीजमा मदिरा सेवन गर्ने, अत्यधिक होहल्ला गर्ने तथा तीजको मौलिकतासँग मेल नखाने गीत र कार्यक्रम बढेको भन्दै आलोचना पनि हुने गरेको छ । तीजको नाममा हुने यस्ता गतिविधिले पर्वको धार्मिक तथा सांस्कृतिक पक्षलाई ओझेलमा पार्न सक्ने चिन्ता बढेको छ ।

यसको अर्थ महिलाले तीजमा रमाइलो गर्नु हुँदैन भन्ने होइन । महिलाले आफ्नो इच्छा र स्वतन्त्रताअनुसार तीज मनाउन पाउनुपर्छ । तर, स्वतन्त्रताको अर्थ अनावश्यक खर्च र देखासिकी बढाउनु मात्रै होइन । आफ्नो संस्कृति जोगाउँदै समयअनुसार तीजलाई नयाँ ढङ्गले मनाउन सकिन्छ ।

तीजको खर्चलाई सामाजिक कामसँग जोड्ने अभ्यास पनि बढाउन आवश्यक छ । दर खाने नाममा ठूलो रकम खर्च गर्नुको सट्टा त्यसको केही हिस्सा विपन्न परिवार, बालबालिकाको शिक्षा, स्वास्थ्य वा विपद्मा परेकालाई सहयोग गर्न सकिन्छ । यसले पर्वको खुसीलाई अरूसँग पनि बाँड्ने अवसर दिन्छ ।

यस वर्ष भने तीजमा हुने भड्किलो कार्यक्रम केही कम देखिएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गरेपछि धेरैको ध्यान तीजको उत्सवभन्दा विपद्मा परेकाको सहयोगतर्फ गएको छ ।

बाढीका कारण ठूलो सङ्ख्यामा मानिस प्रभावित भएपछि तीजका लागि छुट्याएको रकमसमेत राहत र उद्धारमा सहयोग गर्नेहरू देखिएका छन् । विगतका वर्षमा ठूलो खर्च गरेर गरिने कतिपय कार्यक्रम यस वर्ष सीमित भएका छन् । तीज मनाउने क्रममा हुने खर्चलाई पीडित परिवारको सहयोगमा लगाउने प्रवृत्तिले पर्वको अर्को सकारात्मक पक्ष देखाएको छ ।

विपद्को समयमा आफ्नो उत्सवलाई केही सीमित गरेर अरूको दुःखमा साथ दिनु पनि तीजको अर्थपूर्ण पक्ष बन्न सक्छ । आखिर पर्वको खुसी आफूले मात्रै मनाउने होइन, अरूसँग पनि बाँड्ने हो । यस वर्षको तीजले यही सन्देशलाई केही हदसम्म बलियो बनाएको छ ।

तीज समयसँगै परिवर्तन हुँदै जानु स्वाभाविक हो । महिलाले आफ्नो अधिकार र स्वतन्त्रता प्राप्त गर्दै जाँदा तीज पनि पुरानै ढाँचामा सीमित रहन सक्दैन । तर, परिवर्तनको नाममा यसको मौलिकता हराउनु पनि हुँदैन ।

धार्मिक आस्था कायम राख्दै महिलाको स्वतन्त्रता र अधिकारलाई सम्मान गर्ने, अनावश्यक खर्च र देखासिकी घटाउने तथा स्थानीय उत्पादन र महिला उद्यमलाई प्रोत्साहन गर्ने हो भने तीज अझ अर्थपूर्ण बन्न सक्छ । यसले एकातिर नेपाली संस्कृति जोगाउन सहयोग गर्छ भने अर्कोतिर बजार र आर्थिक गतिविधिलाई पनि सकारात्मक रूपमा अघि बढाउन सक्छ ।

त्यसैले तीजलाई न त केवल व्रत र पूजामा सीमित गर्न आवश्यक छ, न त महँगा कपडा, गहना र भोजभतेरमै । यो महिलाको इतिहास, सङ्घर्ष, स्वतन्त्रता, संस्कृति र अहिलेको आर्थिक जीवनसँग जोडिएको पर्व हो । यस वर्ष बाढीपीडितको पीडाबीच देखिएको संयमले भने तीजको खुसी अरूको दुःखमा सहयोग गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।