महँगी नियन्त्रणमा रास्वपा सरकार असफल, खाद्यान्नको मूल्य बढ्दा सर्वसाधारणलाई दैनिकी चलाउनै कठिन

कुन वस्तुको मूल्य कति बढ्यो ?

काठमाडौं । करिब दुई तिहाई बहुमत सहितको रास्वपा सरकार महँगी नियन्त्रणमा चुकेको छ । फागुन २१ गते भएको निर्वाचनपछि बनेको सरकारले राम्रो काम गर्दै आएको दाबी गरेपनि नागरिकको चुलोसँग जोडिने महँगीमा भने सरकार चुकेको छ । मुखमा चामल, दाल, तेल, मसला, चिनी र तरकारीलगायत अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सर्वसाधारणको भान्सा थप महँगिएको छ ।

सरकारले बजार अनुगमन गरेर खाद्यान्नको मूल्य घटाएको दाबी गरिरहेका बेला खुद्रा व्यापार संघको तथ्यांकले भने वैशाखको तुलनामा अहिले अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको देखाएको छ ।

सरकारले बजारमा मूल्यवृद्धि नियन्त्रण भएको दाबी गरे पनि उपभोक्ताको अनुभव र बजारको मूल्य सूचीले त्यसलाई पुष्टि गरेको छैन । चाडपर्वमा खपत बढ्ने चामल, दाल, तेल, मसला, तरकारीलगायतका वस्तुको मूल्य नै बढेपछि सीमित आम्दानी भएका परिवारको दसैँ–तिहारको बजेट थप दबाबमा परेको छ ।

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिको विषय प्रतिनिधिसभामा समेत उठिसकेको छ । गत असोज ८ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद कृष्णप्रसाद अधिकारीले दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको प्रश्नको जवाफ दिँदै विभागीय मन्त्री दीपककुमार साहले भने बजार अनुगमन र मूल्य नियन्त्रणमा सरकार गम्भीर रहेको दाबी गरेका थिए ।

मन्त्री साहका अनुसार खाद्यान्नमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न खुद्रा व्यवसायी तथा वितरकसँग छलफल गरी मूल्य १० देखि १५ प्रतिशतसम्म घटाउन निर्देशन दिइएको थियो । त्यसको परिणामस्वरूप बजारमा करिब १० प्रतिशतसम्म मूल्य घटेको उनको दाबी थियो ।

तर खुद्रा व्यापार संघकै तथ्यांकले सरकारको दाबीभन्दा ठीक उल्टो तस्वीर देखाएको छ । वैशाखको तुलनामा अहिले अधिकांश दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ । अझ केही वस्तुको मूल्यवृद्धि सामान्य दरभन्दा निकै माथि देखिन्छ ।

वैशाखको तुलनामा स्टिम जिरा मसिना चामलको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेको छ । वैशाखमा प्रतिकिलो ९५ रुपैयाँ रहेको चामल अहिले १०५ रुपैयाँ पुगेको छ । लङ्ग्रेन बासमती चामलको मूल्य १८० बाट १९० रुपैयाँ र ताइचिन चिउराको मूल्य १९० बाट २०० रुपैयाँ पुगेको छ ।

दालजन्य वस्तुको मूल्यमा पनि वृद्धि भएको छ । चना दालको मूल्य ४० रुपैयाँले बढेर १४० बाट १८० रुपैयाँ पुगेको छ । मास दाल २०० बाट २२० रुपैयाँ, मुग गेडा २०० बाट २१० रुपैयाँ र रहर दाल २२० बाट २३० रुपैयाँ पुगेको छ ।

तेलतर्फ भुटेको तोरीको तेलको मूल्य ४५० बाट ४६० रुपैयाँ पुगेको छ भने काँचो तोरीको तेल ३७५ बाट ४०० रुपैयाँ पुगेको छ । भटमासको तेल २९० बाट २९५ रुपैयाँ र सनफ्लावर तेल २९५ बाट ३०५ रुपैयाँ पुगेको छ । त्यस्तै डाल्डा घ्यूको मूल्य २६० बाट २९० रुपैयाँ पुगेको छ ।

मसलाजन्य वस्तुमध्ये धनियाँ पाउडरको मूल्य सबैभन्दा धेरै बढेको छ । वैशाखमा प्रतिकिलो ३५० रुपैयाँ रहेको धनियाँ पाउडर अहिले ४७५ रुपैयाँ पुगेको छ । अर्थात् प्रतिकिलो १२५ रुपैयाँ वृद्धि भएको छ । जिरा पाउडर ७५० बाट ७७५ रुपैयाँ र बेसार पाउडर ५०० बाट ५२५ रुपैयाँ पुगेको छ ।

दाना धनियाको मूल्य पनि ९० रुपैयाँले बढेको छ । वैशाखमा प्रतिकिलो ३०० रुपैयाँ रहेको दाना धनिया अहिले ३९० रुपैयाँ पुगेको छ । त्यस्तै चिनीको मूल्य १०५ बाट ११० रुपैयाँ र सेतो भटमासको मूल्य १४० बाट १७० रुपैयाँ पुगेको छ ।

खाद्यान्न र मसलामात्र होइन, तरकारीको मूल्यमा समेत उल्लेख्य वृद्धि भएको छ । वैशाखमा प्रतिकिलो ६५ रुपैयाँ रहेको भारतीय गोलभेडाको मूल्य अहिले ७५ रुपैयाँ पुगेको छ । सानो गोलभेडाको मूल्य प्रतिकिलो २९ रुपैयाँले बढेको छ भने लाम्चो आलुको मूल्य ३७ रुपैयाँ र भारतीय आलुको मूल्य २८ रुपैयाँले बढेको छ ।

यस्तै सुकेको प्याजको मूल्य प्रतिकिलो ५२ रुपैयाँले बढेको छ । गाजरको मूल्य ८५ रुपैयाँले बढ्दा बन्दा १८ रुपैयाँ, काउली ६० रुपैयाँ, मुला ३० रुपैयाँ र घिरौला ४० रुपैयाँले महँगिएको छ । चाडपर्वमा तरकारीको माग बढ्ने समयमा मूल्यसमेत बढेपछि उपभोक्तामाथि दोहोरो दबाब परेको छ ।

रास्वपा सांसद बदनकुमार भण्डारीले पनि पछिल्लो एक महिनामै दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए । उनका अनुसार जिरा मसिनो चामल २५ किलोको २ हजार २०० रुपैयाँबाट २ हजार ६००, लङ्ग्रेन चामल २० किलोको ३ हजार २०० बाट ३ हजार ६००, मासको दाल प्रतिकिलो १४० बाट २०० र रहरको दाल १९० बाट २१० रुपैयाँ पुगेको छ ।

त्यस्तै सनफ्लावर तेल प्रतिलिटर २८० बाट ३१० रुपैयाँ, भटमासको तेल २७० बाट ३०० रुपैयाँ र अण्डा प्रतिक्रेट ६०५ रुपैयाँसम्म पुगेको उनले बताएका छन् । बजारमा ‘अनियन्त्रित ढंगबाट मूल्यवृद्धि भएको’ भन्दै उनले सरकार कहाँ छ भन्ने प्रश्नसमेत गरेका छन् ।

संघले सार्वजनिक गर्ने मूल्य सूची औसत तथा आधारभूत मूल्यमा आधारित भए पनि उपभोक्ताले वास्तविक बजारमा त्यसको तुलनामा फरक मूल्य तिर्नुपरेको गुनासो गर्दै आएका छन् । एउटै वस्तुको मूल्य पसलपिच्छे फरक हुनु, ब्रान्ड र गुणस्तरका नाममा अतिरिक्त मूल्य असुल्नु तथा चाडपर्वमा माग बढेको मौका छोपेर मूल्य बढाउने प्रवृत्तिले उपभोक्ता थप मारमा परेका छन् ।

भक्तपुरमा बस्दै आएकी सिर्जना खड्काले पछिल्लो समय दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको बताइन् । उनका अनुसार विशेषगरी चामल, तेल र चिनीको मूल्य बढेको छ भने कतिपय पसलमा एउटै सामानको मूल्यसमेत फरक–फरक छ । ‘महँगी घट्ला भनेको झन् बढेको बढ्यै छ । हामी सर्वसाधारणलाई घर चलाउनै गाह्रो भइसक्यो,’ उनले भनिन् ।

नैकापकी सृष्टि भण्डारीको अनुभव पनि उस्तै छ । दैनिक आवश्यक पर्ने सामानकै मूल्य बढ्दा घरको बजेट व्यवस्थापन गर्न कठिन भएको उनको गुनासो छ । ‘सरकारी पक्षले मूल्य बढेको छैन भन्छ, तर बजारमा अवस्था फरक छ । तरकारीको मूल्य पनि अत्यधिक बढेको छ । दसैँको समयमा झन् बढ्छ,’ उनले भनिन् ।

दसैँ–तिहारमा खाद्यान्न, तरकारी, फलफूल, मासु, कपडा तथा अन्य उपभोग्य वस्तुको माग सामान्य समयको तुलनामा बढ्छ । यही समयमा परिवारले ठूलो परिमाणमा सामान खरिद गर्नुपर्ने भएकाले मूल्यमा भएको सामान्य वृद्धिले समेत मासिक बजेटमा ठूलो असर पार्छ ।

सीमित आम्दानी भएका परिवारका लागि चामल, दाल, तेल र तरकारीको मूल्यवृद्धिसँगै मासु, फलफूल, कपडा तथा उपहारका सामानमा हुने अतिरिक्त खर्चले चाडपर्वको बजेट थप महँगो बनाउँछ । त्यसैले चाडपर्वको मुखमा हुने मूल्यवृद्धि नियन्त्रण गर्नु सरकारका लागि नियमित बजार अनुगमनभन्दा पनि उपभोक्ताको चुलो र पारिवारिक बजेटसँग जोडिएको विषय बनेको छ ।

सरकारले अनुगमन र मूल्य नियन्त्रण प्रभावकारी भइरहेको दाबी गरिरहे पनि सरकारी दाबी, बजारको तथ्यांक र उपभोक्ताको अनुभवबीच ठूलो अन्तर देखिएको छ । अबको चुनौती मूल्य बढ्नुको कारण पहिचान गर्नु मात्र होइन, सरकारी मूल्य सूची र वास्तविक खुद्रा बजारबीचको अन्तर हटाउनु तथा चाडपर्वको मौका छोपेर हुने कृत्रिम मूल्यवृद्धि रोक्नु पनि हो ।