रसुवा भोटेकोशी बाढी: २० अर्ब ९० करोडको बीमा दाबीमा ८२ करोड १३ लाख भुक्तानी

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख ४५ हजार रुपैयाँको दाबी परेकोमा हालसम्म २३ करोड २३ लाख ३९ हजार रुपैयाँ भुक्तानी भएको छ ।

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका भौतिक संरचना, सवारीसाधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरूले अग्रिम दाबी भुक्तानीसहित उक्त रकम भुक्तानी गरेका हुन् ।

बाढीबाट भएको क्षतिबापत बीमा कम्पनीमा कुल २० अर्ब ९० करोड ४९ लाख ४१ हजार रुपैयाँको प्रारम्भिक दाबी परेको थियो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीबाट क्षति भएका सम्पत्ति तथा संरचनासम्बन्धी हालसम्म २ हजार ४९१ वटा बीमा दाबी परेका छन् । ठूलो रकमको दाबी परे पनि हालसम्मको भुक्तानी भने कुल दाबी रकमको तुलनामा निकै कम छ ।

प्राधिकरणको तथ्यांकअनुसार सबैभन्दा बढी दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । उक्त कम्पनीमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख ४५ हजार रुपैयाँको दाबी परेकोमा हालसम्म २३ करोड २३ लाख ३९ हजार रुपैयाँ भुक्तानी भएको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्समा १९२ बीमितबाट ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँको दाबी परेको छ । कम्पनीले हालसम्म ७६ लाख रुपैयाँ भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्समा ४५९ बीमितबाट २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको दाबी परेकोमा २१ करोड ४७ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँको दाबीमध्ये २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरेको छ । यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ८० लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ५७ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख रुपैयाँ र द ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

बीमालेखको प्रकारअनुसार सबैभन्दा धेरै दाबी सम्पत्ति बीमाअन्तर्गत परेको छ । यस शीर्षकमा ५७६ बीमितबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँको दाबी परेकोमा हालसम्म १६ करोड २८ लाख रुपैयाँ भुक्तानी भएको छ ।

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाअन्तर्गत १७४ बीमितबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँको दाबी परेको छ । यस शीर्षकमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

दाबी संख्याका आधारमा भने मोटर बीमा अगाडि छ । यस शीर्षकमा १ हजार ६७ बीमितले दाबी गरेका छन् । मोटर बीमामा कुल २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँको दाबी परेकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ ।

त्यस्तै, परिवहन बीमाअन्तर्गत २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँको दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

बाढीबाट भएको क्षतिको प्रारम्भिक दाबी रकम ठूलो रहेकाले बीमा कम्पनीहरूले दाबी मूल्यांकन तथा भुक्तानी प्रक्रियालाई तीव्रता दिनुपर्ने देखिन्छ । यद्यपि, दाबी परेको रकम र भुक्तानी भएको रकमबीचको अन्तरले प्रभावित बीमितले अझै ठूलो रकम पाउन बाँकी रहेको देखाउँछ ।

प्रकाशन भएका दस्तावेजहरू

6ae075838333f_1793095043.pdf