तिहारमा भाइमसलाको मूल्यले दिदीबहिनीलाई मार, किलोमै ३ सय देखि ५ सय सम्म महँगियो
डलर र ढुवानी खर्च बढेको व्यवसायीको दाबी, पुरानो र गुणस्तरहीन सामान मिसाएर बेच्ने गरेको उपभोक्ताको गुनासो
मूल्य बढे पनि तिहार नजिकिएसँगै भाइमसला खरिद गर्ने ग्राहकको भीड भने घटेको छैन । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा मूल्य वृद्धि भए पनि भाइमसला किन्ने उपभोक्ताको चहलपहल उल्लेख्य छ ।
काठमाडौँ । तिहारमा भाइटीकाका दिन दाजुभाइलाई उपहारका रूपमा दिने भाइमसलाको मूल्य यस वर्ष अचाक्ली बढेको छ । चाडपर्वमा माग बढेसँगै व्यापारीले मूल्य बढाउँदा यसको प्रत्यक्ष मार दिदीबहिनीलाई परेको छ । गत वर्षको तुलनामा यस वर्ष विभिन्न प्रकारका भाइमसलाको मूल्य प्रतिकिलो १५० रुपैयाँदेखि ३०० रुपैयाँसम्म बढेको छ ।
भाइटीकामा दाजुभाइलाई सगुनका रूपमा दिने भाइमसला तिहारको अनिवार्य उपहारजस्तै बनेको छ । काजु, बदाम, किसमिस, पेस्ता, ओखरलगायतका ड्राइ फ्रुट्स मिसाएर तयार गरिने भाइमसलाको मूल्य बढेपछि उपभोक्तालाई खरिद गर्नसमेत मुस्किल हुन थालेको छ ।
तिहारमा भाइमसलाको माग उच्च हुने भएकाले कतिपय व्यापारीले यही मौकामा आफूखुसी मूल्य बढाउने गरेको उपभोक्ताको गुनासो छ । त्यसमाथि पुरानो स्टकमा रहेका अखाद्य तथा कम गुणस्तरका सस्ता मसला नयाँ सामानमा मिसाएर बिक्री गर्ने गरेको आरोपसमेत लागेको छ । गुणस्तरमा ध्यान नदिई मूल्य भने महँगो लिने प्रवृत्तिले उपभोक्ता थप मारमा परेका छन् ।
काठमाडौंको असन र मखन गल्लीमा वर्षौंदेखि भाइमसलाको व्यापार गर्दै आएका व्यवसायी तथा खरिदका लागि बजार पुगेका ग्राहकहरूका अनुसार यस वर्ष सबैजसो प्रकारका ड्राइ फ्रुट्सको मूल्य बढेको छ । व्यवसायीहरूका अनुसार अमेरिकी डलरको मूल्य वृद्धि, सामुद्रिक ढुवानी खर्चमा भएको बढोत्तरी तथा भदौमा आएको बाढीपहिरोका कारण ड्राइ फ्रुट्सको आयात लागत बढेको हो । आयात लागत बढ्दा त्यसको असर नेपाली बजारमा परेको उनीहरूको भनाइ छ ।
मूल्य बढे पनि तिहार नजिकिएसँगै भाइमसला खरिद गर्ने ग्राहकको भीड भने घटेको छैन । नेपाल खुद्रा व्यापार संघका अनुसार बजारमा मूल्य वृद्धि भए पनि भाइमसला किन्ने उपभोक्ताको चहलपहल उल्लेख्य छ ।
कुन भाइमसलाको मूल्य कति ?
असन र मखन बजारका व्यवसायीका अनुसार यस वर्ष विभिन्न प्रकारका ड्राइ फ्रुट्सको मूल्य वस्तुअनुसार फरक छ । काजु प्रतिकिलो १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । त्यस्तै, देशी बदाम (आलमण्ड) प्रतिकिलो १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
किसमिसको मूल्य प्रतिकिलो ७ सयदेखि ८ सय रुपैयाँसम्म छ भने पेस्ता प्रतिकिलो ३ हजार ६ सयदेखि ३ हजार ७ सय रुपैयाँसम्म पुगेको छ । मखना प्रतिकिलो १ हजार ७ सयदेखि २ हजार ४ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ । नरिवलको मूल्य प्रतिकिलो ८ सय ५० देखि १ हजार रुपैयाँसम्म रहेको छ ।त्यस्तै, ओखर प्रतिकिलो ५ सय ५० देखि ६ सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । खुर्पानी प्रतिकिलो १ हजारदेखि १ हजार २ सय रुपैयाँसम्म, अञ्जिर प्रतिकिलो १ हजार ८ सयदेखि २ हजार रुपैयाँसम्म र ल्वाङ प्रतिकिलो १ हजार ९ सयदेखि २ हजार रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
सुकुमेल प्रतिकिलो ६ हजारदेखि ६ हजार २ सय रुपैयाँसम्म पुगेको छ । अलैँची प्रतिकिलो ३ हजारदेखि ३ हजार २ सय रुपैयाँसम्म र दालचिनी ६ सय ५० देखि ७ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ । मिश्री प्रतिकिलो १ सय ८० देखि २ सय रुपैयाँसम्म तथा काँचो बदाम प्रतिकिलो २ सयदेखि २ सय ३० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । उल्लिखित मूल्य असन र मखन बजारमा उपलब्ध ड्राइ फ्रुट्सको प्रतिकिलो न्यूनतम तथा अधिकतम खुद्रा मूल्यमा आधारित छ ।
मूल्यवृद्धिले उपभोक्ता मर्कामा
तिहारका लागि भाइमसला किन्न बजार पुगेका उपभोक्ताले यस वर्षको मूल्यवृद्धिले आफ्नो बजेट नै प्रभावित भएको बताएका छन् । टोखामा बस्दै आएकी लक्ष्मी मुडभरीले यस वर्ष तिहारमा ड्राइ फ्रुट्सको मूल्य अत्यधिक बढेको बताइन् । दसैँमा पनि मूल्य बढेको र अहिले तिहारमा पनि जुन सामान किन्न खोज्दा महँगो मूल्य तिर्नुपरेको उनको गुनासो छ । ‘हरेक चाडपर्वमा मूल्य बढ्छ । दसैँमा पनि त्यस्तै थियो, तिहारमा पनि त्यस्तै छ । जुन सामानको मूल्य सोध्यो, त्यही महँगो छ । यसरी त हामीलाई साह्रै मुस्किल भयो,’ उनले भनिन् ।
धादिङकी सुकन्तला बास्कोटाको गुनासो पनि उस्तै छ । यस वर्ष भाइमसला किन्नै मुस्किल हुने गरी मूल्य बढेको उनले बताइन् ।
‘यो तिहारमा सामान साह्रै महँगो भयो । किन्न पनि मुस्किल छ । होलसेलमै यति महँगो छ भने खुद्रामा झन् कति पर्ला रु मूल्यवृद्धिले हामी साह्रै मर्कामा परेका छौँ,’ उनले भनिन् । त्यस्तै उनले पैसा तिरे अनुसार राम्रो समान नपाएको गुनासो समेत गरिन् । उनल भनिन 'व्यापारीले चाडपर्वमा मानिसहरुले जस्तो पनि किन्छन् भनेर पहिला देखिको नै स्टक पनि यहि मौका छोपेर बिकाउछन् ।'
तीन महिनामै साढे २ अर्बको ड्राइ फ्रुट्स आयात
नेपालमा भाइमसलाका रूपमा प्रयोग हुने अधिकांश ड्राइ फ्रुट्स विदेशबाट आयात हुने गरेका छन् । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म २ अर्ब ४७ करोड ४० लाख रुपैयाँबराबरका विभिन्न प्रकारका ड्राइ फ्रुट्स आयात भएका छन् ।
गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३३ करोड ७१ लाख रुपैयाँबराबरका ड्राइ फ्रुट्स आयात भएका थिए । यसअनुसार एक वर्षको अवधिमा तीन महिनाको आयात मूल्य १३ करोड ६९ लाख रुपैयाँले बढेको छ ।
विभागको तथ्यांकअनुसार उक्त अवधिमा ४६ करोड ५७ लाख २५ हजार रुपैयाँबराबरको करिब ४ लाख ६९ हजार ५१६ किलो काजु आयात भएको छ । काजु मुख्यगरी भारत र भियतनामबाट आयात हुने गरेको छ । यसबाहेक कतार, कुवेत, साउदी अरब, सिंगापुर, इजरायल, ब्रुनाई, इन्डोनेसिया, चीन, हङकङ र मलेसियालगायतका मुलुकबाट पनि काजु आयात हुने गरेको छ ।
यसैगरी ६५ करोड ३९ लाख ९८ हजार रुपैयाँबराबरको बोक्रासहित र बोक्रा हटाइएको १५ लाख २५ हजार २५० किलो ओखर आयात भएको छ । नेपालमा मुख्यगरी चीन, भारत, कुवेत, साउदी अरब, संयुक्त अरब इमिरेट्स ९यूएई० र कतारबाट ओखर आयात हुने गरेको छ ।
त्यस्तै, ४७ करोड ९३ लाख ३४ हजार रुपैयाँबराबरको ५ लाख ९ हजार ७७७ किलो आलमण्ड बदाम आयात भएको छ । भारत, कतार, हङकङ, कुवेत, साउदी अरब, चीन, दक्षिण कोरिया, बेलायत, मलेसिया, यूएई र इजरायलबाट आलमण्ड बदाम आयात भएको विभागको तथ्यांक छ ।
यस अवधिमा चीन, कतार, साउदी अरब, कुवेत, भारत र इजरायललगायतका मुलुकबाट २७ करोड ६३ लाख ४८ हजार रुपैयाँबराबरको ७ लाख ३३ हजार ५९८ किलो किसमिस आयात भएको छ । यसैगरी करिब ३० लाख रुपैयाँबराबरको १ हजार ९ सय किलो पिस्ता आयात भएको छ । पिस्ता मुख्यगरी भारत, कतार, यूएई र बेलायतबाट आयात हुने गरेको छ । त्यस्तै, ४ लाख ४१ हजार रुपैयाँबराबरको २ हजार ८९ किलो ताजा तथा सुक्खा छोकडा आयात भएको छ । छोकडा मुख्यगरी भारत, कतार, यूएई र कुवेतबाट आयात हुने गरेको छ ।
यसरी तिहारमा भाइमसलाको माग बढ्ने र अधिकांश सामग्री आयातमा निर्भर हुनुपर्ने अवस्थाले अन्तर्राष्ट्रिय बजारको मूल्य, विनिमय दर र ढुवानी खर्चको प्रभाव नेपाली उपभोक्ताले प्रत्यक्ष रूपमा भोग्नुपरेको छ ।