नेप्से १२ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ७२ करोडमा सीमित
आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य आज सर्वाधिक ५.०९ प्रतिशत घटेको छ ।
काठमाडौँ । बिहीबार सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार अन्तिम समयमा सकारात्मक भएको सेयर बजार परिसुचक नेपाल स्टक एक्सेन्ज (नेप्से), आज भने घटेर बन्द भएको हो । आज नेप्से परिसूचक १२.९५ अंक घटेर २६५२.५८ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंक घटेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ४ अर्ब ७२ करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबर भएको छ ।
आज मूल्य बढेका स्टकहरुको वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको १०.२५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ को मूल्य आज सर्वाधिक ५.०९ प्रतिशत घटेको छ । त्यस्तै, चिरख्वा हाइड्रोपावरको सेयरमूल्य साढे ४ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज १८ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो । कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज सर्वाधिक ६६.१२ अंक घटेको छ ।
बिहिबार कारोबारमा आएका मध्य ५६ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घटेको छ त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।