साइबर ठगी नियन्त्रण गर्न राष्ट्र बैंकको निर्देशन, २४सै घण्टा सम्पर्क अधिकृत तोक्नुपर्ने

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूलाई यस्तो व्यवस्था गर्न भनेको हो ।

काठमाडौं । अनलाइन तथा वित्तीय साइबर ठगीका घटना बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई २४सै घण्टा उपलब्ध हुने गरी सम्पर्क अधिकृत तोक्न निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले सूचना जारी गर्दै विकास बैंक, वित्त कम्पनी, भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकहरूलाई यस्तो व्यवस्था गर्न भनेको हो ।

नेपाल सरकार, गृह मन्त्रालयको निर्णयअनुसार स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको स्थापना र कार्य सञ्चालनसम्बन्धी दिग्दर्शन’ कार्यान्वयनका लागि यस्तो निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ । साइबर अपराध नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको साइबर ब्युरोसँग प्रभावकारी समन्वय र सहकार्य गर्ने उद्देश्यले सम्पर्क अधिकृत तोक्न भनिएको हो ।

उक्त केन्द्रमा वाणिज्य बैंक, ई–सेवा र खल्ती भौतिक रूपमा नै समन्वयमा रहने व्यवस्था भएकाले अन्य विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी सेवा प्रदायकलाई सम्पर्क अधिकृत तोक्न निर्देशन दिइएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले सम्बन्धित संस्थाहरूलाई सम्पर्क अधिकृतको नाम, थर, फोन नम्बर र कार्यालयको इमेल ठेगाना तत्काल विभागको आधिकारिक इमेलमा पठाउन भनेको छ । साइबर अपराध अनुसन्धान तथा तत्काल प्रतिकार्यका लागि ती अधिकारी २४सै घण्टा सम्पर्कमा रहनुपर्नेछ ।

डिजिटल भुक्तानीको प्रयोग बढेसँगै अनलाइन ठगी, बैंक खाता ह्याकिङ तथा अवैध रूपमा रकम स्थानान्तरण हुने घटना पनि बढिरहेका छन् । यस्ता घटनामा तत्काल अनुसन्धान र कारबाही गर्न तथा पीडितको रकम रोक्का र फिर्ता गर्ने प्रक्रियालाई सहज बनाउन प्रहरी र वित्तीय क्षेत्रबीच समन्वय संयन्त्र निर्माण गरिएको हो ।