चेरीको नयाँ इलेक्ट्रिक क्रसओभर ‘क्यु’ नेपाली बजारमा सार्वजनिक, के के छ यसको फिचर ?
चेरी क्युको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा लन्च स्पेसल प्राइसको रुपमा २ लाख रुपैयाँ छुट प्रदान गरिएको छ ।
काठमाडौं । चेरीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नयाँ इलेक्ट्रिक क्रसओभर ‘चेरी क्यु’ नेपाली बजारमा सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधि, प्रिमियम आराम र सुरक्षा सुविधासहित आएको यो गाडीमा ४१.२ किलोवाट आवरको एलएफपी ब्याट्री र रियर ह्विल ड्राइभ मोटर जडान गरिएको छ ।
चेरी क्युमा रहेको मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार यसले एकपटक फुल चार्ज गर्दा एनईडीसी परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म रेन्ज दिन्छ। फास्ट चार्जिङ सुविधामार्फत ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट मात्र लाग्ने कम्पनीको दाबी छ ।
आकारका हिसाबले चेरी क्युको लम्बाइ ४ हजार १९५ एमएम, चौडाइ १ हजार ८११ एमएम र उचाइ १ हजार ५६८ एमएम रहेको छ। यसको ह्विलबेस २ हजार ७०० एमएम छ । १७५ एमएम ग्राउन्ड क्लियरेन्स, २१ डिग्री एप्रोच एंगल र २६ डिग्री डिपार्चर एंगलले यसलाई नेपाली सडक तथा विविध ड्राइभिङ अवस्थाका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ ।
भण्डारण क्षमतातर्फ यसमा ७० लिटरको अगाडिको फ्रन्ट स्टोरेज (फ्रन्क) र ३७५ लिटरको पछाडिको बुट स्पेस उपलब्ध छ । पछाडिको सिट फोल्ड गर्दा बुट स्पेसलाई १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर ड्राइभिङ अनुभवका लागि अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक सस्पेन्सन सिस्टम दिइएको छ ।
सुरक्षा सुविधाअन्तर्गत चेरी क्युमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी) र हिल असिस्ट रहेका छन् । यसका अतिरिक्त एडप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङजस्ता एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) सुविधा पनि उपलब्ध छन् ।
चेरी क्युको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ तोकेको छ । त्यसमा लन्च स्पेसल प्राइसको रुपमा २ लाख रुपैयाँ छुट प्रदान गरिएको छ । यस अनुसार चेरी क्युको मूल्य हाल ३३ लाख ९९ हजार रुपैयाँ छ । मूल्यमा अफरसँगै कम्पनीले अटो प्लस इन्स्योरेन्स, ७ किलोवाटको चार्जर र ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको एक्स्टेन्डेड वारेन्टी उपलब्ध हुने बताएको छ ।