प्रधानमन्त्री पत्नी सबिनाको आयोजनामा नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम
नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्ने कुकुर तिहारलाई थप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको आयोजनामा आइतबार काठमाडौंको नक्सालस्थित नारायणचौरमा कुकुर तिहार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली संस्कृति र परम्परामा विशेष महत्व राख्ने कुकुर तिहारलाई थप प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रियस्तरमा समेत चिनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
नेपाली समाजमा कुकुरलाई निष्ठावान्, विश्वासिलो र मानिसको असल साथीका रूपमा लिने गरिन्छ । धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूतका रूपमा समेत पुज्ने परम्परा छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला लगाइदिने र मिठा परिकार खुवाएर सम्मान गर्ने चलन छ ।
मानव जीवनमा कुकुरले पुर्याउँदै आएको योगदान, उसको वफादारी, साथ र साहसको सम्मान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । घरको सुरक्षादेखि अपराध अनुसन्धान, खोज तथा उद्धारजस्ता कार्यमा समेत कुकुरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।
यस्ता कार्यक्रमले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षणसँगै पशुपन्छीप्रतिको माया, दया र सम्मानको भावना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, कुकुरप्रतिको सम्मानलाई पर्वमा मात्रै सीमित नराखी वर्षभरि नै जनावरप्रति जिम्मेवार र संवेदनशील व्यवहार गर्नुपर्ने सन्देशसमेत यसले दिएको छ ।
कुकुर तिहारलाई सांस्कृतिक पहिचानका रूपमा अन्तर्राष्ट्रिय समुदायमाझ पुर्याउने र नेपाली परम्पराको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।