तीन महिनामै भित्रियो साढे ११ करोडको तास, सरकारले उठायो ७ करोड राजस्व
नेपालमा हरेक वर्ष ठूलो परिमाणमा तास आयात हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४२ करोड ९ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो । उक्त अवधिमा १ करोड ४७ लाख ४८ हजार ३४३ थान तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
काठमाडौं । नेपाली बजारमा तासको खपत उल्लेख्य देखिएको छ । नेपालीले वार्षिक ७० करोड रुपैयाँभन्दा बढीको तास किनेर खेल्ने गरेको तथ्यांकले देखाउँछ । भन्सार मूल्य, सरकारी कर तथा व्यवसायीले राख्ने न्यूनतम मार्जिनसमेत जोड्दा तासको वार्षिक कारोबार ७० करोड रुपैयाँभन्दा माथि पुग्ने देखिएको हो ।
नेपालमा हरेक वर्ष ठूलो परिमाणमा तास आयात हुने गरेको छ । गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै ४२ करोड ९ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो । उक्त अवधिमा १ करोड ४७ लाख ४८ हजार ३४३ थान तास नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ ।
तास आयातबाट सरकारले पनि उल्लेख्य राजस्व संकलन गर्दै आएको छ । गत आर्थिक वर्षमा तास आयातबाट २५ करोड २९ लाख १६ हजार रुपैयाँ भन्सार राजस्व प्राप्त भएको थियो ।
तास आयात गर्दा सामान्यतया ३० प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था छ । तर, दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) अन्तर्गत सार्क मुलुकबाट उत्पत्तिको प्रमाणपत्रसहित आयात गर्दा भन्सार महसुल ७.२५ प्रतिशत मात्रै लाग्ने व्यवस्था छ ।
आयातकर्तादेखि थोक तथा खुद्रा विक्रेतासम्मले आफ्नो लागत र नाफा जोडेर बजारमा तास बिक्री गर्ने गर्छन् । व्यवसायीले कम्तीमा २० प्रतिशत मार्जिन राखेको आधारमा पनि यसको कुल बजार मूल्य ७० करोड रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ । विभिन्न तहका व्यवसायीले थप मार्जिन राख्ने भएकाले वास्तविक कारोबार रकम अझ बढी हुन सक्ने देखिन्छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामै ११ करोड ६८ लाख १५ हजार रुपैयाँ बराबरको तास आयात भइसकेको छ । यस अवधिमा ३४ लाख २२ हजार ६६१ थान तास नेपाल भित्रिएको छ । त्यसबाट सरकारले ७ करोड ७ लाख ७४ हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
नेपालमा दसैँ र तिहारका समयमा तासको माग बढ्ने भएकाले साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा आयात बढी हुने गरेको छ । यही प्रवृत्ति कायम रहे चालु आर्थिक वर्षमा तास आयातको मूल्य ४४ करोड रुपैयाँ हाराहारी पुग्न सक्ने अनुमान छ ।
यद्यपि, चालु आर्थिक वर्षको पहिलो तीन महिनाको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा ४१ लाख ४२ हजार ५६ थान तास आयात भएको थियो । त्यसको भन्सार मूल्य १२ करोड ३० लाख रुपैयाँ रहेको थियो । उक्त अवधिमा सरकारले तास आयातबाट ७ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तास आयातको परिमाण, मूल्य र त्यसबाट प्राप्त हुने राजस्व तीनवटै घटेको देखिन्छ ।