लक्ष्मीपूजामा उपत्यका झिलिमिली, विद्युत व्यवस्थापनको अनुगमनमा ऊर्जामन्त्री श्रेष्ठ
लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पगेका छन् ।
काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइएको छ । लक्ष्मीपूजाको अवसरमा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी भित्र्याइएको हो ।
काठमाडौं उपत्यका पनि रंगीचंगी बत्तीले झिलिमिली बनेको छ । लक्ष्मीपूजाका दिन विद्युत खपत बढ्ने भएकाले विद्युत आपूर्ति व्यवस्थापनलाई प्रभावकारी बनाउन ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठ स्वयं नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित कार्यालय पगेका छन् ।
मन्त्री श्रेष्ठले प्राधिकरणबाट भइरहेको विद्युत आपूर्ति तथा व्यवस्थापनको अवस्थाबारे जानकारी लिनुका साथै अनुगमन गरेका हुन् । उनले लक्ष्मीपूजाका दिन विद्युत आपूर्ति निरन्तर राख्न र कुनैपनि कारणले विद्युत सेवा अवरुद्ध हुन नदिन सम्बन्धित अधिकारीलाई निर्देशनसमेत दिएका छन् ।