सानीभेरी जलविद्युत आयोजनाका लागि ७.२० अर्ब रुपैयाँ ऋण लगानी जुट्यो

विज्ञापन
ncell

काठमाडौं । रुकुम पूर्वमा निर्माण हुने ४४.५२ मेगावाटको सानीभेरी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । ९ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाले ७५ प्रतिशत ऋण लगानी जुटाएको छ । आयोजनामा २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा पाँच बैंकले ७ अर्ब २० करोड सहवित्तिय (कन्सोर्टियम) कर्जा लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकले २ अर्ब ५० करोड लगानी गर्ने भएको छ । नबिल बैंकले १ अर्ब ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड, सानिमा बैंक र सिद्धार्थ बैंकले १/१ अर्ब रुपैयाँ लगानी गर्ने आयोजनाले जनाएको छ । आयोजनाको २ अर्ब ४० करोड स्वपुँजी लगानी हुनेछ ।

आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धमा भदौ १६ गते हस्ताक्षर हुने तय भएको छ । यो जलविद्युत आयोजना रुकुम पूर्वको पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकामा सानी भेरी खोलामा निर्माण हुनेछ। यस आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।