जेनजी आन्दोलनमा विभिन्न क्षेत्रका ६२९ भवन पूर्ण क्षति, १५६० मा आंशिक
आन्दोलनका दौरान भएको तोडफोड र आगजनीमा नयाँ बानेश्वरको संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, महान्यायधिवक्ताको कार्यालय, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालयहरु परेका थिए ।
जेनजी आन्दोलनमा विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको प्रारम्भिक आंकलन
काठमाडौं । जेनजी पुस्ताका नाममा गत भदौ २३ र २४ गते भएको आन्दोलन, तोडफोड र आगजनीबाट देशभरमा विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति पुगेको छ । आन्दोलनका दौरान १ हजार ५६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ ।
नेपाल प्रहरीले संकलन गरेको प्रारम्भिक विवरण अनुसार आन्दोलनका समयमा भएको तोडफोड र आगजनीका कारण नेपाल प्रहरीका मात्रै १७७ वटा भवन पूर्णरूपमा क्षतिग्रस्त भएको छ । प्रहरीका २५८ वटा भवनमा आंशिक क्षति पुगेको छ भने तोडफोड र आगजनीबाट ३१० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा ८३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।
यस्तै, ९७ वटा व्यापारिक तथा नीजि भवन पूर्णरूपमा क्षति भएको भने २९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्णरुपमा क्षति भएको छ भने १७४ वटा कार्यालयमा आंशिक क्षति भएको प्रहरीले सङ्कलन गरेको विवरणमा उल्लेख छ ।
क्षतिको मूल्याङ्कन भने अझै भइनसकेको छैन । क्षतिको विवरण सङ्कलनको काम पनि जारी छ । आन्दोलनका दौरान भएको तोडफोड र आगजनीमा नयाँ बानेश्वरको संसद भवन, सिंहदरवार, सर्वोच्च अदालत, राष्ट्रपति भवन, महान्यायधिवक्ताको कार्यालय, जिल्ला अदालतलगायतका महत्वपूर्ण कार्यालयहरु परेका थिए । निजी क्षेत्रतर्फ हिल्टन होटल, भाटभटेनी, सिजी, चन्द्रागिरी केबुलकारलगायतका संरचनाहरुमा तोडफोड र आगजनी भएको थियो ।