जेनजी आन्दोलनमा भएको क्षतिको बिमा दाबीमध्ये हालसम्म ६ अर्ब रुपैयाँ मात्र भुक्तानी
गत भदौ २३ र २४ गतेको आन्दोलनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा ६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७०.५४ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ ।
काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा ६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ । यही ५ माघसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको दाबी परेको थियो ।
त्यसमध्ये माघ पहिलो सातासम्म ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।
प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ को भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो । माघ पहिलो सातासम्म भुक्तानी भएको रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । सो अवधिमा भुक्तानी रकम कुल दाबीको करिब २५.१५ प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय ३४ दाबी परेका छन् । माघ पहिलो सातासम्म भएको दाबी भुक्तानीमध्ये सबैभन्दा बढी ४ अर्ब ८ करोड ९३ लाख रुपैयाँ सम्पत्ति बिमा (घर सम्पत्ति) अन्तर्गतको छ । सम्पत्ति बिमामा घर, अपार्टमेन्टलगायत स्थिर सम्पत्ति पर्छन् । यो बिमामा ७ सय १६ वटा दाबीमा १८ अर्ब ९५ लाखको मागदाबी परेको छ । सम्पत्ति बिमापछि धेरै भुक्तानी भएको मोटर बिमा हो । जसमा १ अर्ब ७० करोड २४ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी भएको छ ।
ठेकेदार तथा इन्जिनियरिङ बिमामा ९ करोड ४७ लाख, पारवहन बिमामा १ करोड ५९ लाख र अन्य बिमामा ७ करोड ७७ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । खासगरी ठूला क्षतिमा मूल्यांकन र प्रक्रियागत काम नसकिएकाले परेको दाबीमध्ये कम मात्र बिमा भएको देखिएको बिमा कम्पनीहरूले जनाएका छन् ।
प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबीमध्ये ७०.५४ प्रतिशत सवारीसाधन (मोटर) बिमाको रहेको पाइएको छ । हालसम्म बिमा कम्पनीहरूमा करिब ३ अर्ब ८५ करोड रुपैयाँ बराबरको २ हजार ३ सय ३० वटा दाबी सवारी बिमामा परेको छ ।
बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ । नेपालजस्तै सामाजिक, आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ । दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्ने र मूल्यांकन पूरा भएकाहरूको हकमा बिमा भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । मूल्यांकन पूरा नभएकोरप्रक्रियामा रहेका दाबीको हकमा भुक्तानी बाँकी रहेको जनाइएको छ ।
