दोहोरो अंकले घट्यो नेप्से, २ कम्पनीको सेयरमा भने सकारात्मक सर्किट

साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । सोमबार १.५३ अंकले बढेको नेप्से परिसूचक आज १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा रोकिएको छ। कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार सेयर बजार मापक नेपाल स्टक एक्सेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ ।सोमबार १.५३ अंकले बढेको नेप्से परिसूचक आज १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा रोकिएको छ।

नेप्से घटेपनि कारोबार रकम भने बढेको देखिएको । मंगलबार ३२२ कम्पनीका १ करोड ८७ लाख ३ हजार १८३ कित्ता सेयर ९२ हजार ३३८ पटक किनबेच हुँदा कुल ८ अर्ब ६३ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबार कालिञ्चोक दर्शन र एचएलआई लार्ज क्याप फण्डको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, पञ्चकन्या माई हाइड्रोपावरको ५.१५ प्रतिशत, रावा इनर्जीको ४.८७ प्रतिशत, एसवाई प्यानलको ४.८४ प्रतिशतले बृद्धि भएको छ । कारोबारमा आएको सान्भि इनर्जी र पियोर इनर्जीको सेयर मूल्य भने साढे ४ प्रतिशतभन्दा बढी घटेको छ।

कुल १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशत बढेको छ.। म्युचुअल फण्ड उपसमूहको परिसूचक १ प्रतिशतले बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूह सामान्य रूपमा बढेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ, जसको ५९ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। त्यस्तै, आँखु खोला जलविद्युत कम्पनीको ४१ करोड रुपैयाँ र यूनियन हाइड्रोपावरको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।