बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यू, ३६ घाईतेको उपचार हुँदै

पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । बेहुला-बेहुली अर्कै गाडीमा रहेकाले उनीहरु सकुशल रहे ।

काठमाडौं । बैतडीमा जन्ती बस दुर्घटना हुँदा १३ जनाको मृत्यू भएको छ । ८ जनाको घटनास्थलमा र अन्य ५ जनाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ३६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा बेहुला–बेहुली भने सुरक्षित छन् । बेहुला-बेहुली अर्कै गाडीमा रहेकाले उनीहरु सकुशल रहे ।

पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो । जन्ती सवार बस बझाङको सुनकुडातर्फ फर्किंदै गर्दा दुर्घटनामा परेको हो । बस सडकबाट करिब २ सय मिटर तल खसेर कच्याककुचुक भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार मृत्यू हुनेहरूमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, अन्दाजी २७ वर्षका दीपक जोशी, अन्दाजी ४५ वर्षका किसनदत्त जोशी, ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला, केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशी छन् । एकजनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा घाइते भएकाहरुमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते ५ जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । बस चालक विरेन्द्र बुढालाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।