पर्यटन विधेयक राष्ट्रिय सभाबाट पारित, पर्यटन ऐन २०३५ लाई विस्थापित गर्ने
पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्ने विधेयकको उद्देश्य छ । विधेयकमा होटल तथा रिर्सोट, पदयात्रा तथा पर्वतारोहणलगायत विभिन्न ४४ क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्वीकार गरेको छ ।
काठमाडौं । राष्ट्रिय सभाबाट पर्यटन विधेयक पारित भएको छ ।
सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विधेयक पारित गरेको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।
पर्यटन क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्न पर्यटन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन भनेर ल्याइएको विधेयक राष्ट्रिय सभाबाट पारित भएको हो । विधेयक ऐनमा रुपान्तरण भएसँगै पर्यटकीय गतिविधिको प्रवर्धन, पर्यटन उद्योगको व्यवस्थापन तथा नियमन गर्न सहज हुने सरकारको विश्वास छ । पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्ने विधेयकको उद्देश्य छ । विधेयकमा होटल तथा रिर्सोट, पदयात्रा तथा पर्वतारोहणलगायत विभिन्न ४४ क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्वीकार गरेको छ ।
विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ५ वैशाख २०८२ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । १४ वैशाख २०८२ मा राष्ट्रिय सभामा प्रस्तुत विधेयक ११ साउन २०८२ मा दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको थियो । विधायन समितिले पारित गरेर सभामा लगेसँगै सभाले पनि पारित गरेको हो ।
विधेयक ऐनका रुपमा आएपछि भने पर्यटन ऐन २०३५ विस्थापित हुने छ । तर, विधेयक ऐन बन्न अझै धेरै समय लाग्ने देखिन्छ । अब यो विधेयक नयाँ प्रतिनिधिसभा आएपछि त्यहाँ जान्छ । प्रतिनिधिसभाले समेत पारित गरेपछि पुन: राष्ट्रिय सभामा फर्किन्छ । त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएपछि ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।
