नेप्से ४७.७१ अंकले घट्दा कारोबार १२ अर्ब ९६ करोडमा सीमित
सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ । सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि सेयर बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च गिरावट आएको छ । सोमबार नेप्से ४७.७१ अंकले घटेर २८३१.३९ बिन्दुमा कायम भएको छ । सोमबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १२ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल १४ अर्ब ७८ करोड माथिको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये २६ कम्पनीको सेयर मूल्य बढ्दा २३७ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर छ । आज ६ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्स, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी, होटल फरेष्ट इन, सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबारमा आएको सोलु हाइड्रोपावरको सेयरमूल्य आज सर्वाधिक ७.७९ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन ङादी ग्रुप पावर र शिवम् सिमेन्ट्सको करिब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।