होर्मुज खुलाउन इरानद्वारा अस्वीकार
युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ ।
काठमाडौँ । अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म विश्वकै अत्यन्त संवेदनशील तेल मार्ग स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान इरानले लिएको छ ।
युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै तेहरानले रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज जफत गरेको जनाएको छ । यसैबीच क्षेत्रीय तनाव चर्किँदै जाँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार युद्धविरामलाई केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन् । इरानले भने पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन ।
इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीको नेतृत्व गरेका संसद्का अध्यक्ष मोहम्मद बाघेर घालीबाफले नौसैनिक नाकाबन्दी कायम रहँदा युद्धविरामको अर्थ नरहने स्पष्ट पारे।
इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । यसअघि युद्धविरामका बेला स्वतन्त्र आवागमन दिने बताएको इरानले अमेरिकी नाकाबन्दीपछि नीति कडा बनाएको हो । दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाउँदै आएका छन् ।
यता इरानसँगको तनावबीच लेबनान र इजरायलबीचको अवस्था पनि तनावपूर्ण नै रहेको छ । युद्धविराम घोषणा भए पनि इजरायली आक्रमणमा थप पाँच जनाको ज्यान गएको लेबनानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सीमा क्षेत्रमा भएको हमलामा पत्रकार अमल खलिलको मृत्यु भएको र अर्की पत्रकार जीनाब फराज घाइते भएकी छन् ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसङ्घका शान्तिरक्षकहरूमाथि भएको आक्रमणमा घाइते भएका दोस्रो फ्रान्सेली सैनिकको पनि मृत्यु भएको जानकारी दिए । उक्त घटनाको जिम्मेवारी हिजबुल्लाहले अस्वीकार गरेको छ ।
इजरायल र लेबनानबीच वासिङ्टनमा हुने दोस्रो चरणको वार्तामा युद्धविराम एक महिना थप गर्न आग्रह गरिने बताइएको छ ।