वायुसेवा निगमले २ जहाज किन्न लिएको ३६ अर्ब ऋण पुग्यो ५५ अर्ब, तिर्ने कसले र कहिले ?
कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋण नतिरेकोमा महालेखाको संधै टिप्पणी
भुक्तानी तालिकाबमोजिम सावाँ ब्याज भुक्तानी नगरेका कारण कुल तिर्न बाँकी साँवा तथा ब्याज कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ पुगेको छ ।
काठमाडौं । नेपाल वायुसेवा निगम (एनएसी) ले दुई जहाज किन्न लिएको ३६ अर्ब ऋण अहिले बढेर ५५ अर्व रुपैयाँ बढी भएको छ । महालेखापरीक्षक कार्यालयले शुक्रबार सार्वजनिक गरेको ६३ औं प्रतिवेदन अनुसार निगमले २०८२ असारसम्म कुन तिर्नुपर्ने रकम ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । अझ चालू वर्षको ब्याजसमेत पुँजीकरण गर्दा यो रकम झनै ठूलो हुने देखिएको छ ।
निगमले जहाज किन्न लिएको ऋणको तालिका बनाएर भुक्तानी नगर्दा हरेक वर्ष ब्याजसमेत जोडिएर वर्षान्तमा सावाँ हुने र अर्को वर्ष फेरी सावाँमा परिणत हुँदा ऋणको आकार वर्षेनी ठूलो हुँदै गएको महालेखापरीक्षकको कार्यालयले जानकारी दिएका छ । निगमले ए-३२० तथा ए-३३० जहाज खरिदका लागि नेपाल सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्व गरि कुल ३६ अर्ब ऋण लिएको थियो । भुक्तानी तालिकाबमोजिम सावाँ ब्याज भुक्तानी नगरेका कारण कुल तिर्न बाँकी साँवा तथा ब्याज कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ६१ हजार र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ पुगेको छ । महालेखापरीक्षकले भुक्तानी तालिकाबमोजिम रकम भुक्तानी गर्नुपर्नेमा जोड दिएको छ ।
महालेखापरीक्षाको ६२ औं प्रतिवेदनअनुसार २०८१ असारमा साँवा तथा ब्याज गरी कुल ४७ अर्ब ९६ करोड ४४ लाख ८४ हजार रुपैयाँ थियो । यसरी हेर्दा एक वर्षमै ब्याज मात्रै ७ अर्ब ८ करोड ३३ लाख १६ हजार रुपैयाँ थपिएको छ । यसरी हेर्दा जति बढी समय हुन्छ, त्यति नै ब्याज तिर्नुपर्ने रकम बढ्दै जाँदा निगम टाट पल्टिने खतरा बढ्र्द गएको छ । सरकार आँफै जमानी बसेर ऋण लिएकाले दुबै कोषहरुलाई ठूलो रकम तिर्नुपर्ने स्थिति छ ।
महालेपरीक्षकको ६३औं प्रतिवेदन २०८३ मा गरिएको टिप्पणी
महालेपरीक्षकको ६२औं प्रतिवेदन २०८२ मा गरिएको टिप्पणी
महालेपरीक्षकको ६१औं प्रतिवेदन २०८१ मा गरिएको टिप्पणी