भारतद्धारा महङ्गा बस्तुहरुमा थप कडाई, सुनपछि चाँदी आयातमा कडा नीति अबलम्बन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा अनावश्यक रूपमा खर्च हुन नदिन नागरिकलाई एक वर्षसम्म सुन नकिन्न, तेल बढी प्रयोग नगर्न र अत्यावश्यक नभएसम्म विदेश भ्रमण नगर्न आग्रह गरिरहेका बेला सुनचाँदी आयातमा कडाई गरिएको हो ।

काठमाडौं । भारत सरकारले सुनपछि चाँदी आयातलाई कडाइ गरेको छ । भारतले एकपछि अर्को गर्दै आयातित् महङ्गा सामानहरुमा कडाई गर्न थालेको हो ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार ९९.९ प्रतिशत शुद्धता भएका सिल्भर बारलाई ‘फ्री’ श्रेणीबाट हटाएर ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राख्दै अन्य प्रकारका सिल्भर बारलाई पनि प्रतिबन्धित आयात सूचीमा समावेश गरेको छ ।

देशमा चाँदीको आयात नियन्त्रण गर्ने उद्देश्यले आयात नीति संशोधन गरेको वाणिज्य मन्त्रालयले जनाएको छ । सूचनाअनुसार उसले सुनचाँदी आयातसम्बन्धी नयाँ नियम तत्काल लागू भएको जनाएको छ । छ ।

पश्चिम एसियामा जारी तनावबीच यसअघि सरकारले बहुमूल्य धातुमा लाग्ने आयात शुल्कमा उल्लेखनीय वृद्धि गरेको थियो भने एडभान्स अथोराइजेसन स्किमअन्तर्गत सुन आयातमा १०० किलोग्रामको सीमा तोकेको थियो । त्यसैगरि भारतले अनावश्यक खरिदलाई निरुत्साहित गर्न सुन र चाँदीमा लाग्ने ६ प्रतिशतको आयात शुल्क बढाएर १५ प्रतिशत पुर्‍याएको छ । प्लाटिनममा लाग्ने आयात शुल्क पनि ६.४ प्रतिशतबाट बढाएर १५.४ प्रतिशत पुर्‍याएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशी मुद्रा अनावश्यक रूपमा खर्च हुन नदिन नागरिकलाई एक वर्षसम्म सुन नकिन्न, तेल बढी प्रयोग नगर्न र अत्यावश्यक नभएसम्म विदेश भ्रमण नगर्न आग्रह गरिरहेका बेला सुनचाँदी आयातमा कडाई गरिएको हो । भारतले चिनी निर्यातमासमेत प्रतिवन्ध लगाएको छ ।