कंगोमा इबोलाको कहर, डब्लुएचओद्वारा आपतकाल घोषणा

स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको शंका गरिएको छ ।

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।  संक्रमण तीव्र गतिमा फैलिन थालेपछि र सीमापार असर देखिन थालेपछि डब्ल्यूएचओले विश्व समुदायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ जनामा संक्रमणको शंका गरिएको छ । प्रभावित क्षेत्रमा रोग तीव्र गतिमा फैलिँदै गएको भन्दै स्वास्थ्य निकायहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

कङ्गोका स्वास्थ्य मन्त्रीका अनुसार फैलिएको इबोला प्रजातिका लागि हाल प्रभावकारी खोप उपलब्ध छैन । यो रोगको मृत्युदर करिब ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी दिइएको छ । प्रकोप नियन्त्रणका लागि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सहायता संस्थाहरूले उपचार सामग्री, स्वास्थ्यकर्मी र आपतकालीन सहयोग टोली परिचालन गर्ने तयारी गरिरहेका छन् ।

स्थानीय बासिन्दाहरूले उपचार केन्द्र र आइसोलेसन सुविधाको अभावका कारण धेरै बिरामी घरमै मृत्यु भइरहेको बताएका छन् । स्वास्थ्य पूर्वाधार कमजोर हुँदा संक्रमण थप फैलिने जोखिम बढेको अधिकारीहरूको भनाइ छ । यो प्रकोप ‘बुन्डिबुग्यो भाइरस’ नामक इबोलाको दुर्लभ प्रकारका कारण फैलिएको हो । डब्ल्यूएचओका अनुसार, यस प्रकारको भाइरसका लागि हालसम्म कुनै स्वीकृत खोप वा प्रभावकारी औषधि उपलब्ध छैन ।