इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण, अमेरिका इरान तनाब बल्झिँदा फेरी इन्धनको मूल्य बढ्ने चिन्ता

विज्ञापन
ncell

अमेरिकी सेनाको पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको बताइएको छ ।

काठमाडौं । अमेरिकाले शनिबार इरानका ‘केही स्थानमा’ नयाँ आक्रमण गरेपछि अमेरिका-इरानबीच फेरी लफडा सुरु भएको छ । इरानले स्ट्रेट अफ हर्मुज हुँदै गन्तव्यतर्फ गइरहेको एउटा जहाजमाथि आक्रमण गरेका कारण जवाफी हमला गरेको अमेरिकाले जनाएको छ । 

‘व्यावसायिक ढुवानीविरुद्ध इरानको निरन्तर आक्रामकताको प्रत्यक्ष जवाफमा अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) ले आइतबार इरानमाथि आक्रमण गरेको छ,’ सेन्टकमले भनेको छ, ‘इरानले २० लाख ब्यारेलभन्दा बढी कच्चा तेल बोकेको पानामाको झन्डा भएको तेल ट्याङ्कर ‘किकु’ माथि शनिबार आक्रमण गरेको जवाफ दिइएको हो ।’

इरानले इन्धन बोकेको ट्याङ्करलाई आक्रमण गरेपछि आइतबार अमेरिकाले प्रतिक्रियास्वरूप इरानका निश्चित स्थानमा हवाई आक्रमण गरेको वासिङ्टनले पुस्टि गरेको छ । सेन्टकमले ट्विटर (एक्स) मा पोस्ट गरेको ३५ सेकेन्डको एउटा धमिलो भिडियोमा आकाशबाट खिचिएको विभिन्न क्षेत्रमा भएको विस्फोट देखिन्छ ।

‘किकु माथि इरानको ड्रोन आक्रमणको जवाफमा अमेरिकी नौसेना र वायुसेनाका लडाकु जेटहरूले स्थानीय समय अनुसार शनिबार राति स्ट्रेट अफ हर्मुज र आसपासका क्षेत्रमा १० वटा इरानी सैन्य लक्ष्यहरूमाथि आक्रमण गरेका छन्’ पोस्टमा लेखिएको छ । इरानी सञ्चार माध्यमहरूले दक्षिणी इरानको सिरिक र केश्म क्षेत्रमा धेरै विस्फोटहरू भएको रिपोर्ट गरेका छन्।

उता, इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्सले आइतबार अमेरिकाले इरानी भूमिमाथि गरेको आक्रमणको बदलामा कुवेत र बहराईनमाथि आक्रमण गरेको जनाएको छ । गार्ड्सले थप आक्रामण्न भए ‘कडा’ जवाफ दिने चेतावनी दिएको छ । गार्ड्सले विज्ञप्तिमा भनेको छ, ‘उनीहरूले कुवेतको अलि अल-सलेम र बहराइनको पोर्ट सलमानमा रहेको अमेरिकी नौसेना अड्डा (फिफ्थ फ्लिट) मा रहेका आठ महत्वपूर्ण अमेरिकी सैन्य सुविधाहरूमा भारी विस्फोटक पदार्थले प्रहार गरेका छन् ।’

खासगरि अमेरिकी सेनाको पछिल्लो आक्रमणले इरानको निगरानी पूर्वाधार, सञ्चार प्रणाली, हवाई प्रतिरक्षा स्थल, ड्रोन भण्डारण सुविधा र समुद्रमा विस्फोटक पदार्थ बिछ्याउने क्षमतालाई लक्षित गरेको बताइएको छ ।

केही दिनअघि भएको अमेरिका र इरानबीचको शान्ति वार्ता र स्ट्रेट अफ हर्मुज खोल्ने सहमतिसँगै विश्व बजारमा कच्चा तेलको मूल्य भारी गिरावट आएको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर इरान युद्ध सुरु हनुअघिको स्तरमा ओलिएको थियो । गत बिहीबार बेन्चमार्क ब्रेन्ट क्रुड आयल प्रति ब्यारेल ७२ डलरसम्म झरेको थियो जुन मूल्य मूल्य इरान युद्ध सुरु हुनुभन्दा अघिल्लो दिन (फेब्रुअरी २७) को ७२.२९ डलर प्रतिव्यारेल हाराहारी हो । गत जुन १७ मा सम्झौता अमेरिका इरानबीच स्विट्जरल्याण्डमा भएको शान्ति वार्तापछि इरानले तेल निर्यातमा लगाएको प्रतिवन्ध खुकुलो बनाएको थियो । तर, पछिल्ला आक्रमणले फेरी जनमानसमा निरासा फैलाएको बताइएको छ । शनिबार र आईतबार प्रायः अन्तर्राष्ट्रिय बजारहरु बन्द रहने भएकाले मूल्यका विषयमा खासै चर्चा हुँदैन । आईतबार दिनभरको अवस्था कस्तो रहन्छ र विभिन्न क्षेत्रबाट कस्तोे प्रतिक्रिया आउँछ त्यसका आधारमा आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण हुने बताइएको छ ।