इरानले आफ्नो व्यवहार नसुधारे अस्तित्व नै संकटमा पर्ने ट्रम्पको चेतावनी

विज्ञापन
ncell

उनले अमेरिका अब धेरै समयसम्म संयम अपनाउन नसक्ने उल्लेख गर्दै आवश्यक परे पहिले सुरु गरिएको सैन्य अभियानलाई पूर्ण रूपमा अघि बढाइने चेतावनी दिएका छन् ।

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो व्यवहार नसुधारे अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले इरान कहिल्यै नसुध्रिने जस्तो देखिएको बताएका छन् । उनले अमेरिका अब धेरै समयसम्म संयम अपनाउन नसक्ने उल्लेख गर्दै आवश्यक परे पहिले सुरु गरिएको सैन्य अभियानलाई पूर्ण रूपमा अघि बढाइने चेतावनी दिएका छन् ।

ट्रम्पले त्यसो गर्नुपरे इरानको अस्तित्व नै समाप्त हुन सक्ने दाबी गरेका छन्।

यता अमेरिकी केन्द्रीय कमान्डले अमेरिकी नौसेनाले इरानका १० वटा सैन्य ठेगानामा आक्रमण गरेको जनाएको छ । ती आक्रमण होर्मुज जलडमरूमध्य नजिक रहेका इरानी सैन्य संरचनालाई लक्षित गरी गरिएको अमेरिकी पक्षको भनाइ छ । अमेरिकाका अनुसार ‘एमटी किकु’ नामको तेल ट्याङ्करमाथि इरानी ड्रोनबाट भएको आक्रमणको जवाफस्वरूप यो सैन्य कारबाही गरिएको हो ।

उता इरानको इस्लामिक क्रान्तिकारी गार्डले भने कुवेतस्थित अली अल सलेम हवाई अड्डा र बहराइनमा रहेको अमेरिकी नौसैनिक पाँचौँ बेडाको अड्डामाथि क्षेप्यास्त्र र ड्रोनमार्फत आक्रमण गरेको दाबी गरेको छ ।

यसैबीच इरानको परराष्ट्र मन्त्रालयले देशको दक्षिणी तटीय क्षेत्रमा हालै भएका अमेरिकी हवाई आक्रमणको कडा निन्दा गरेको छ । मन्त्रालयले ती आक्रमणलाई क्रूर भन्दै तेहरान र वासिङ्टनबीच भएको समझदारीअनुसार लागू युद्धविरामको उल्लङ्घन भएको आरोप लगाएको छ ।

इरानी परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी सरकारले आफ्ना वाचा र प्रतिबद्धताको सम्मान नगर्ने तथा सम्झौता तोड्नु नै उसको नीतिको हिस्सा भएको आरोप पनि लगाइएको छ ।