मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
मन्त्री खनालले केही डिजिटल सञ्चारमाध्यममा आएका यस्ता दाबीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गरे ।
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले सो क्षेत्रमा खानी उत्खनन सम्बन्धमा कुनै पनि पक्षसँग कुनै प्रकारको सहमति वा सम्झौता नभएको जानकारी गराए । मन्त्री खनालले केही डिजिटल सञ्चारमाध्यममा आएका यस्ता दाबीहरूलाई पूर्णतः आधारहीन भन्दै नेपाल सरकारका सम्बन्धित निकायहरूले यसअघि नै त्यसको खण्डन गरिसकेको उल्लेख गरे । परराष्ट्रमन्त्रीले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिकूल असर पर्ने गरी कुनैपनि सम्झौता नगरिने प्रतिबद्धता समेत व्यक्त गरे ।
उनले भने, ‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेना बीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु । यो क्षेत्रमा खानी उत्खनन सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन । यस सम्बन्धमा केही डिजिटल मिडियामा गरिएका आधारहीन दाबीको नेपाल सरकारका सम्बन्धित निकायले खण्डन समेत गरेका छन् । नेपालको संविधान २०७२ को धारा २८९ को प्राकृतिक स्रोत तथा त्यसको उपयोग सम्बन्धमा भएको व्यवस्थाप्रति सरकार पूर्ण प्रतिवद्ध छ । त्यसैगरी नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको प्रतिकूल हुने गरी कुनै पनि सम्झौताहरू नगर्ने विषय स्पष्ट पार्न चाहन्छु । प्रारम्भिक अध्ययनहरूले, अत्यन्त प्रारम्भिक अध्ययनहरूले मुस्ताङमा खानी हुनसक्ने सम्भावना प्रति इंगित गरेका छन् तर यस विषयमा थप अध्ययन र अन्वेषणको आवश्यकता देखिन्छ । नेपालको खानी विभागले यस विषयमा आवश्यक कदमहरू चाल्नेछ ।’
मुस्ताङमा खानी हुनसक्ने सम्भावनाबारे भएका प्रारम्भिक अध्ययनहरूले सकारात्मक संकेत गरे पनि यस विषयमा थप विस्तृत अध्ययन र अन्वेषण आवश्यक रहेको उनको भनाइ थियो । यस सम्बन्धमा खानी तथा भूगर्भ विभागले आवश्यक प्रक्रियाहरू अगाडि बढाउने समेत उनले स्पष्ट पारे ।
