रोडमा मात्रै होइन, प्रतिष्ठामा पनि ‘किङ’: नेपालमा बढ्दैछ ल्यान्ड क्रुजरको दबदबा

उच्च मूल्य भए पनि सुरक्षा, आराम, अफरोड क्षमता र दीर्घकालीन भरपर्दोपनका कारण टोयोटा ल्यान्ड क्रुजर २५० र ३०० सिरिज नेपाली बजारमा उच्च आय भएका ग्राहकको रोजाइमा पर्ने गरेको छ ।

काठमाडौँ । नेपालको प्रिमियम अटोमोबाइल बजारमा टोयोटा ल्यान्ड क्रुजरप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ । उच्च मूल्यका बावजुद सुरक्षा, भरपर्दोपन, अफरोड क्षमता र सामाजिक प्रतिष्ठाको प्रतीकका रूपमा स्थापित भएकाले टोयोटा ल्यान्ड क्रुजर नेपाली धनाढ्य, उद्योगी–व्यवसायी तथा राजनीतिक नेतृत्वको प्रमुख रोजाइ बन्दै गएको छ । अर्कोतर्फ नेपालको भौगोलिक बनावट, सडकको अवस्था र ग्राहकको बदलिँदो आवश्यकताका कारण टोयोटाका प्रिमियम मोडलहरू नेपाली बजारमा लोकप्रिय बन्दै गएको हो । उच्च मूल्य भए पनि सुरक्षा, आराम, अफरोड क्षमता र दीर्घकालीन भरपर्दोपनका कारण टोयोटा ल्यान्ड क्रुजर २५० र ३०० सिरिज नेपाली बजारमा उच्च आय भएका ग्राहकको रोजाइमा पर्ने गरेको छ । 

त्यसो त व्यापक सर्भिस नेटवर्क र स्पेयर पार्ट्सको सहज उपलब्धताले पनि ग्राहकको विश्वास कायम राख्न मद्दत गरेको सेल्स म्यानेजर सन्तोष कार्कीको भनाइ छ । नेपालमा टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले ६ दशकभन्दा लामो समयदेखि नेपालमा टोयोटा गाडीको बिक्री तथा सेवा प्रदान गर्दै आइरहेको छ । 

यद्यपि, वैद्य अर्गनाइजेसनले नेपाली बजारमा ल्यान्ड क्रुजर २५० मोडल ल्याएर बिक्री सुरु गरेको धेरै भएको छैन । कम्पनीले २०२४ मा ल्यान्ड क्रुजर २५० नेपाली बजारमा सार्वजनिक गरेको हो । 

दुई भेरियन्टमा उपलब्ध ल्यान्ड क्रुजरको टप भेरियन्ट ३ करोड ७९ लाख रुपैयाँ मूल्यमा बिक्री हुँदै आएको छ भने अर्को भेरियन्ट ल्यान्ड क्रुजर २५० अलराउन्डर ३ करोड २२ लाख रुपैयाँमा बिक्री भइरहेको कम्पनीले जनाएको छ । ल्यान्ड क्रुजर २५० भन्दा अलि महँगो ल्यान्ड क्रुजर ३०० सिरिजको मूल्य भने ५ करोड ३९ लाख रुपैयाँ निर्धारण गरिएको छ । टोयोटा विश्वभर नै यसको गुणस्तर, टिकाउपन र विश्वसनीयताका लागि चिनिन्छ ।

विशेषतः ठूला उद्योगपति, व्यवसायी, राजनीतिक दलका नेताको रोजाइमा पर्ने ल्यान्ड क्रुजर टोयोटा ब्रान्डकै सबैभन्दा महँगा एसयूभीमध्ये पर्छ । प्रिमियम र लक्जरी सेगमेन्टका गाडी खरिद गर्ने ग्राहकहरू अहिले पनि आफ्नो परम्परागत र भरपर्दो ब्रान्डमै अडिग छन् । टोयोटा ल्यान्ड क्रुजर विश्वभर नै उच्च ‘रिसेल भ्यालु’का लागि परिचित मोडल हो । यसको ‘रिसेल भ्यालु’ अन्य गाडीको तुलनामा धेरै राम्रो हुन्छ । वर्षौं पुराना मोडलहरू पनि नेपालमा अझै महँगो मूल्यमा बिक्री भइरहेका छन् ।  

विगतको तुलनामा अहिले प्रिमियम गाडीको संख्या पछिल्ला वर्षहरूमा ह्वात्तै बढेको कम्पनीका सिनियर म्यानेजर महेन्द्र श्रेष्ठ बताउँछन् । टोयोटाका ल्यान्ड क्रुजर २५० र ल्यान्ड क्रुजर ३०० सिरिज यो वर्ष राम्रो बिक्री भएको उनले बताए । श्रेष्ठकाअनुसार अफरोड क्षमता, भरपर्दोपन, स्पेयर पार्ट्सको उपलब्धता र बिक्रीपश्चात्‌को मूल्य (रिसेल भ्यालु) समेत राम्रो रहेकाले पनि टोयोटाप्रतिको विश्वास अझ बढेको उनले बताए ।  

‘लुक्स र रोड प्रेजेन्स एकदमै दमदार छ । बजारमा अन्य ब्रान्डका ७ करोडसम्म पर्ने गाडीहरू आए पनि ती सामान्य कारजस्ता देखिन्छन् । तर, ल्यान्ड क्रुजर गुड्दा मान्छेले छुट्टै नजरले हेर्छन् । त्यसैले यसलाई रोड किङ नै भन्दा पनि हुन्छ,’ श्रेष्ठले भने ।