पूर्वअध्यक्ष रवि सिंहको कम्पनीसहित १० निर्माण तथा आपूर्ति कम्पनी कालोसूचीमा

विज्ञापन
ncell

कालोसूचीमा पर्ने कम्पनीमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा प्रा.लि. तीन वर्षका लागि प्रतिबन्धमा परेको छ।

काठमाडौं । सरकारले १० वटा निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले असार २५ गतेको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीमध्ये नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहको महादेव खिम्ती निर्माण सेवा प्रा.लि. तीन वर्षका लागि प्रतिबन्धमा परेको छ। त्यस्तै, सिंहको उक्त कम्पनी र सुमित रौनियारको पप्पु कन्स्ट्रक्सन प्रा.लि. बीचको संयुक्त उपक्रम ‘पप्पु-महादेव जेभी’ लाई पनि तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।

हुलाकी राजमार्ग निर्देशनालय, इटहरीको सिफारिसमा यी कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ। सोही कार्यालयको सिफारिसमा सुभास श्रेष्ठको श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी (हेटौंडा) प्रा.लि. लाई पनि तीन वर्षका लागि कालोसूचीमा राखिएको छ। यस्तै, बाजुराको त्रिवेणी नगरपालिकाको सिफारिसमा ताराप्रसाद पुडासैनीको ग्लोवल ड्रग्स सप्लायर्स (धनगढी) लाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ।

अन्य कालोसूचीमा पर्ने कम्पनीमा दीपेन्द्रबहादुर शाहीको भारत-सिद्धसाई जेभी लाई एक वर्ष ६ महिना, कमला अधिकारी शर्माको लुम्बिनी मोटर्स एण्ड पम्प इन्डस्ट्रिज लाई एक वर्ष, रनवीर नेपालीको हीरा नेपाली निर्माण सेवा (जुम्ला) लाई दुई वर्ष, रोशन राईको मयुमी कन्स्ट्रक्सन लाई एक वर्ष र रवि श्रेष्ठको शुभम् निर्माण सेवा (गोरखा) लाई दुई वर्षका लागि प्रतिबन्ध लगाइएको छ ।  कालोसूचीमा परेका यी कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनैपनि खरिद वा निर्माण प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।