इरानले बन्द गरायो होर्मुज जलमार्ग, अमेरिकाद्वारा इरानमाथि फेरी आक्रमण
अमेरिकी अधिकारीहरूले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउन इरानलाई आग्रह गरिरहेका छन् ।
काठमाडौं । इरानले ‘स्ट्रेट अफ होर्मुज’ अनिश्चितकालका लागि बन्द गरेको घोषणा गरेको छ । विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको स्ट्रेट अफ होर्मुज बन्द गर्ने घोषणापछि अमेरिका र इरानबीच थप तनावको स्थिति सिर्जना भएको छ ।
इरानको सरकारी सञ्चारमाध्यमले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले होर्मुज जलमार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । इरानी पक्षले स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक-पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको दावी गरेको छ । इरानी पक्षले अमेरिकाले इरानमाथि नयाँ चरणको हवाई आक्रमण गरेको र इरानले अमेरिकी आक्रमणको कडा जवाफ दिने चेतावनी दिएको छ ।
उता, अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाजमाथि इरानले खुला रूपमा आक्रमण गरेका कारण सैन्य कारबाही अघि बढाएको जनाएको छ । सेन्टकमका अनुसार आईआरजीसीको आक्रमणबाट जहाजको इन्जिन कक्षमा गम्भीर क्षति पुग्दा यात्रा अघि बढाउन नसक्ने अवस्था आएको र एक जना चालकदलका सदस्य बेपत्ता भएको अमेरिकी पक्षले दाबी गरेको छ । यसलाई इरानमाथि अमेरिकाको तेस्रो चरणको आक्रमणको प्रयासका रुपमा लिइएको छ ।
सेन्टकमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘व्यापारिक जहाजहरूमाथिका अघिल्ला आक्रमणका लागि जवाफदेही बनाइएपछि पनि इरानलाई समझदारीपत्रको पालना गर्ने अर्को अवसर दिइएको थियो, तर उसले फेरि त्यसमा असफलता देखाएको छ ।’ अमेरिकाले इरानको नागरिक जलयात्री तथा होर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमतालाई कमजोर पार्न निरन्तर सैन्य कारबाही गरिएको सेन्टकमले जनाएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गर्यो । अब त्यसको मूल्य चुकाउनुपर्नेछ ।’
पछिल्ला आक्रमणहरुबाट १७ जनाको मृत्यु र ११५ जना घाइते भएको इरानी अधिकारीहरूले बताएका छन् । त्यसको प्रत्युत्तरमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार मुलुकहरूलाई लक्षित गर्दै आक्रमण गर्दै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटकको इरानी आक्रमणसँगै युद्धविराम समाप्त भएको घोषणा गरेका छन् । यद्यपि उनले कूटनीतिक वार्ता जारी रहेको र मध्यस्थकर्ताहरूमार्फत पुनः वार्ता गराउने प्रयास भईरहेको बताएका छन् । अमेरिकी अधिकारीहरूले होर्मुज जलडमरूमध्य अन्तर्राष्ट्रिय जहाज आवतजावतका लागि खुला रहेको सार्वजनिक रूपमा घोषणा गर्न र व्यापारिक जहाजमाथिको आक्रमण रोक्ने प्रतिबद्धता जनाउन इरानलाई आग्रह गरिरहेका छन् ।
बढ्दो तनावबीच इरानका सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले नेतृत्व सम्हालेपछि बदला लिनु राष्ट्रको इच्छा’ भएको बताएका छन् । उनले अमेरिका र इजरायललाई संकेत गर्दै दुई युद्धमा मारिएका सबै व्यक्तिको रगतको बदला लिइने चेतावनी दिएका छन् । उता, अली खामेनीको अन्त्येष्टिका क्रममा सहभागीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्नुपर्ने मागसहितका नारा लगाएका थिए। त्यसको प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि आक्रमणको प्रयास भए इरानमाथि ‘पूर्ण विनाशकारी’ जवाफ दिइने चेतावनी दिएका छन् ।
