अमेरिका र इरानबीच बढेको द्धन्द्धले कच्चा तेलको भाउ ब्यारेलको ८० डलर पुग्यो, नेपालमा के होला ?

विज्ञापन
ncell

अमेरिका र इरानबीच केही समयअघि भएको युद्धविरामका कारण होर्मुज जलमार्गमा आपूर्ति सहज भएसँगै कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ७० डलरसम्म घटेको थियो । तर, शुक्रबारबाट पुनः बढेको अमेरिका-इरानबीचको द्धन्द्धले अनिश्चितता र संशय पैदा गरेसँगै कच्चा तेलको भाउ उकालो लागेको हो ।

काठमाडौं । पश्चिम एसियामा अमेरिका र इरानबीच पुनः बढेको द्धन्द्धले कच्चा तेलको भाउ बढेको छ । शनिबार र आईतबार बन्द रहेको अन्तर्राष्ट्रिय बजारमा सोमबार बजार खुलेसँगै कच्चा तेलको भाउ बढेर ब्यारेलको ८० डलरसम्म पुगेको हो ।

अमेरिका र इरानबीच केही समयअघि भएको युद्धविरामका कारण होर्मुज जलमार्गमा आपूर्ति सहज भएसँगै कच्चा तेलको भाउ घटेर प्रतिब्यारेल ७० डलरसम्म घटेको थियो । तर, शुक्रबारबाट पुनः बढेको अमेरिका-इरानबीचको द्धन्द्धले अनिश्चितता र संशय पैदा गरेसँगै कच्चा तेलको भाउ उकालो लागेको हो ।


आयल प्राइस डटकमका अनुसार ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ ७९.५१ डलर पुगेको छ । अमेरिकासँग द्धन्द्ध बढेपसँगै इरानी इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) अर्को सूचना जारी नभएसम्मका लागि होर्मुज जलमार्ग बन्द भएको जनाएको छ । आईआरजिसीले कतार, कुवेत, जोर्डन र बहराईनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरिएको जनाएको छ ।

यद्यपी अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ‘स्ट्रेट अफ होर्मुज’ जलमार्ग इरानको नियन्त्रण नरहेको दावी गरेको छ । सेन्टकमले नियमपूर्वक पार गर्न चाहने सबै जहाजका लागि होर्मुज जलमार्ग खुला रहने दाबी गरेको छ । तेहरानले होर्मुज जलमार्ग भएर गइरहेका पानीजहाजमा हमला गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण सुरु गरेको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कूल तेल आपूर्तिमा होर्मुज जलमार्गको हिस्सा २० प्रतिशत रहेको र पूर्वि एसियाली मुलुकमा यही मार्गबाट कच्चा तेल आपूर्ति हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढ्ने आशंका गर्न थालिएको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल ७० डलरमा झरेको लामो समयपछि मात्र नेपालमा मूल्य समायोजना भएको थियो । दुई साता अघि नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा प्रतिलिटर ३० रुपैयाँ मूल्य घटाएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा तुरुन्तै मूल्य बढाउने तर, मूल्य घट्दा चासो दिने नगरिएको भन्दै सरकारको आलोचना हुने गरेको छ ।