लघु बिमाः जीवनतर्फ म्यादी र निर्जीवनतर्फ मोटर तेस्रो पक्षमै केन्द्रित, एउटै क्षेत्रको व्यवसाय हिस्सा ८० प्रतिशत

विज्ञापन
ncell

काठमाडौं । नेपाल बिमा प्राधिकरणको तथ्यांकअनुसार लघुबिमा व्यवसायको ठूलो हिस्सा अझै पनि सीमित प्रोडक्टमै केन्द्रित रहेको देखिएको छ । प्राधिकरणको तथ्यांकअनुसार लघु जीवन बिमकहरूको अधिकांश व्यवसाय म्यादी (टर्म) बिमालेखमा सीमित रहेको छ भने लघु निर्जीवन बिमातर्फ ८० प्रतिशतभन्दा बढी बिमालेख मोटर तेस्रो पक्ष बिमामै केन्द्रित छन् ।

प्राधिकरणका अनुसार न्यून आय भएका, आर्थिक, सामाजिक तथा भौगोलिक रूपमा पिछडिएका वर्ग तथा समुदायको जोखिम व्यवस्थापन गर्ने उद्देश्यले लघुबिमा कार्यक्रम सञ्चालनमा ल्याइए पनि कृषि, स्वास्थ्य, घर तथा अन्य सामाजिक सुरक्षासँग सम्बन्धित लघुबिमाको पहुँच अपेक्षाअनुसार विस्तार हुन सकेको देखिँदैन ।

प्राधिकरणको तथ्यांकअनुसार २०८२/८३ को फागुन मसान्तसम्म लघु जीवन बिमातर्फ प्रथम बिमाशुल्क ८५ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने कुल बिमांक रकम २ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । यद्यपि, अधिकांश व्यवसाय म्यादी बिमालेखमै सीमित रहँदा दीर्घकालीन बचत तथा अन्य बिमा योजनाको हिस्सा न्यून देखिएको छ ।

त्यसैगरी लघु निर्जीवन बिमातर्फ ८० प्रतिशतभन्दा बढी बिमालेख मोटर तेस्रो पक्ष बिमामा केन्द्रित रहेकाले कृषि, स्वास्थ्य, घर तथा अन्य जोखिमलाई समेट्ने लघुबिमाको विस्तार हुन सकेको छैन । यसले लघुबिमाको वास्तविक लक्षित वर्गका जोखिमहरू अझै पर्याप्त रूपमा बिमा संरक्षणभित्र आउन नसकेको संकेत गरेको छ ।

बिमा ऐन, २०७९ लागू भएपछि लघुबिमा व्यवसाय मात्रै गर्ने उद्देश्यका साथ २०७९ र २०८० सालमा तीन वटा लघु जीवन र चार वटा लघु निर्जीवन गरी सात वटा विशिष्टीकृत लघुबिमा कम्पनी स्थापना भएका थिए। करिब तीन वर्षको अवधिमा संस्थागत संरचनामा उल्लेखनीय विस्तार भए पनि व्यवसायिक पोर्टफोलियो भने विविधीकरण हुन नसकेको प्राधिकरणको निष्कर्ष छ।

लघुबीमा व्यवसाय मात्र गर्ने बिमक बाहेकका अन्य जीवन बिमकले गरेको लघु जीवन बिमा व्यवसाय अन्तर्गत आर्थिक वर्ष २०७९/८० देखि २०८२/८३ सम्मको कुल बिमाशुल्क संकलनको प्रवृत्ति विश्लेषण गर्दा बजारमा म्यादी लघुबीमाको हिस्सा अत्यधिक बढी देखिएको छ । 

समीक्षा अवधिभर संकलन भएको कुल बिमाशुल्क मध्ये म्यादी लघुबिमाको हिस्सा ६६.३ प्रतिशत र अन्य बिमाको हिस्सा २३.४ प्रतिशत रहेकोमा दीर्घकालीन र बचत प्रकृतिको सावधिक लघुबिमाको हिस्सा १०.१ प्रतिशत रहेको देखिन्छ । बजारको मुख्य हिस्सा ओगटेको म्यादी लघुबिमा २०८०/८१ मा उच्चतम रहेको देखिन्छ भने अन्य लघुबिमा स्थिर गतिमा रहेको देखिन्छ। त्यस्तैगरी, सुरुवाती वर्षहरूमा सुस्त गतिमा रहेको सावधिक लघुबिमा २०८२/८३ मा बढेको देखिन्छ ।

बिमा प्राधिकरणले गरेको ‘नेपालको लघुबिमा व्यवसायको अध्ययन तथा विश्लेषण’ सम्बन्धि एक अध्ययन प्रतिवेदनले पनि ‘स्थापना हुँदाका बखत तोकिएको सर्तको मर्म अनुरूप लघुबिमा कम्पनीहरूको उपस्थिति नदेखिएको’ निष्कर्ष निकालेको छ । अध्ययनअनुसार अधिकांश लघुबिमाका शाखा र व्यवसाय बागमती प्रदेश तथा विशेष गरी काठमाडौं उपत्यकामा केन्द्रित भएको देखाएको छ ।

‘आर्थिक र सामाजिक रूपमा पछाडि परेको कर्णाली प्रदेश र ग्रामीण क्षेत्रमा यी कम्पनीहरूको उपस्थिति अत्यन्तै न्यून छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सुगम र आर्थिक रूपले सबल क्षेत्रलाई मात्र प्राथमिकता दिने प्रवृत्तिले लघुबिमाको अवधारणा नै संकटमा परेको छ ।’ प्रतिवेदनमा लघु निर्जीवन बिमातर्फ पनि कम्पनीहरूले सजिलो बाटो रोजेको पनि उल्लेख छ ।

‘कुल लघु निर्जीवन बिमाको करिब ८२ प्रतिशत हिस्सा अनिवार्य गरिएको मोटर तेस्रो पक्ष बिमामा मात्र सीमित छ । वास्तविक लक्षित वर्गको दैनिक जीवनसँग जोडिएका स्वास्थ्य, कृषि, बालीनाली र घर–सम्पत्तिको जोखिम रक्षावरणमा भने कम्पनीहरू उदासीन देखिएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘नयाँ र प्रभावकारी बिमा योजना ल्याउनुको साटो अनिवार्य व्यवसायमा मात्रै रमाउँदा शोध र अनुसन्धानको पाटो शून्य रहेको देखिन्छ ।’

अध्ययनले हाल सञ्चालनमा रहेका ७ वटा लघुबिमा कम्पनीमध्ये ३ वटाले मात्र सर्वसाधारणमा सेयर जारी गरेको र बाँकी ४ वटामा अझै पनि संस्थापक सेयरधनीहरूको एकाधिकार कायम रहेको उल्लेख गर्दै यसले संस्थागत सुशासन, वित्तीय पारदर्शिता र सार्वजनिक उत्तरदायित्वका दृष्टिले चुनौती थपेको देखाएको छ ।

प्राधिकरणले लघुबिमाको उद्देश्य प्रभावकारी रूपमा पूरा गर्न लक्षित समुदायमा अनिवार्य शाखा विस्तार, उत्पादनको विविधीकरण तथा कृषि, स्वास्थ्य, घरलगायत सामाजिक सुरक्षासँग सम्बन्धित बिमा योजनाको पहुँच विस्तार गर्न आवश्यक रहेको औंल्याएको छ।