बर्डफ्लु’को असरः उत्पादन घट्दा अण्डाको मूल्य फेरि उकालो, किसान अझै लागतभन्दा तल

विज्ञापन
ncell

काठमाडौं । ‘बर्डफ्लु’को प्रभावका कारण केही सातायता निरन्तर घटिरहेको अण्डा उत्पादनले बजारमा प्रत्यक्ष असर देखाउन थालेको छ। उत्पादनमा उल्लेख्य कमी आएपछि बजारमा अण्डाको आपूर्ति घटेको छ भने माग बढेसँगै मूल्य पुनः वृद्धि हुन थालेको छ। मूल्य बढे पनि किसानले अझै उत्पादन लागत बराबरको मूल्य भने पाउन सकेका छैनन्।

नेपाल लेयर्स कुखुरापालक संघका अनुसार आजदेखि लागू हुने गरी अण्डाको फार्म मूल्य प्रतिक्रेट ९३० वटा० ५० रुपैयाँले बढाइएको छ। यसअनुसार ठूलो अण्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ। मध्यम अण्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ भने सानो अण्डाको मूल्य ४१५ रुपैयाँ कायम गरिएको छ। संघले ठूला व्यावसायिक फार्महरूको मूल्यका आधारमा बजार मूल्य निर्धारण गर्दै आएको जनाएको छ।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्ला केही सातादेखि अण्डाको माग बढ्न थालेको छ। तर, बर्डफ्लुको प्रभावका कारण उत्पादन भने उल्लेख्य रूपमा घटेकाले बजारमा आपूर्ति कम भएको छ। उनका अनुसार यसअघि दैनिक करिब ४५ लाख अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादन घटेर करिब २८ लाख हाराहारीमा सीमित भएको छ। उत्पादनमा आएको यो गिरावटले बजारमा अण्डाको अभाव सिर्जना गर्दै मूल्य बढाउन दबाब दिएको उनले बताए।

केही साताअघि जेठ महिनाको अन्त्यतिर प्रतिक्रेट अण्डाको मूल्य ५५० रुपैयाँसम्म पुगेको थियो। त्यसपछि माग कमजोर हुँदा मूल्य घटेर ४५० रुपैयाँसम्म झरेको थियो। अहिले भने बजारमा खपत पुनः बढ्न थालेपछि मूल्य क्रमशः उकालो लाग्न थालेको छ।

यद्यपि, मूल्य बढे पनि किसानले अझै लागत मूल्य बराबर आम्दानी गर्न सकेका छैनन्। नेपाल लेयर्स कुखुरापालक संघका अनुसार एक क्रेट ९३० वटा० अण्डा उत्पादन गर्न करिब ५७३ रुपैयाँ ६० पैसा खर्च लाग्छ। अर्थात् प्रतिगोटा अण्डाको लागत करिब १९ रुपैयाँ १२ पैसा पर्छ। हालको बिक्री मूल्य लागतभन्दा कम भएकाले किसानले अझै घाटा बेहोर्नुपरेको संघको भनाइ छ।

अध्यक्ष पोखरेलका अनुसार पछिल्लो मूल्य वृद्धिले किसानलाई केही राहत पुगे पनि लागत बराबरको मूल्य प्राप्त हुन अझै समय लाग्ने देखिएको छ। बजारमा माग निरन्तर बढेमा आगामी दिनमा किसानले लागत मूल्य प्राप्त गर्ने आशा रहेको उनले बताए।

बर्डफ्लुको संक्रमणले अण्डा उत्पादन मात्र होइन, समग्र कुखुरापालन व्यवसायलाई नै गम्भीर असर पुर्‍याएको व्यवसायीहरूको भनाइ छ। संक्रमणका कारण धेरै फार्ममा कुखुरा नष्ट गर्नुपरेको, उत्पादन चक्र प्रभावित भएको तथा नयाँ चल्ला राख्ने प्रक्रिया समेत सुस्त बनेको उनीहरूको भनाइ छ। यसले बजारमा अण्डाको आपूर्ति घटाउनुका साथै किसानको लगानीमा ठूलो क्षति पुगेको छ।

संघले बर्डफ्लुबाट प्रभावित किसानलाई सरकारले राहत, क्षतिपूर्ति तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने माग गरेको छ। संक्रमण नियन्त्रणसँगै उत्पादन पुनः सामान्य अवस्थामा फर्काउन सरकारी सहयोग अपरिहार्य रहेको व्यवसायीहरूको धारणा छ।

बजार विश्लेषकहरूका अनुसार उत्पादन सामान्य अवस्थामा नफर्किएसम्म अण्डाको मूल्य केही समय स्थिर वा थप वृद्धि हुने सम्भावना रहेको छ। तर, उत्पादन विस्तार भई आपूर्ति बढेपछि मूल्य पुनः सन्तुलित हुने अपेक्षा गरिएको छ।

हाल उपभोक्ताले अण्डाको मूल्य वृद्धि महसुस गर्न थालेका छन् भने किसानले लागतभन्दा माथिको मूल्य पाउने दिनको प्रतीक्षामा रहेका छन्। बर्डफ्लुको प्रभाव पूर्ण रूपमा नियन्त्रणमा नआएसम्म अण्डा बजारमा उतारचढाव कायम रहने सम्भावना रहेको व्यवसायीहरू बताउँछन्।