मुलुकको आर्थिक विकासमा प्रमुख बाधक नीतिगत अस्थिरता र कानूनी जटिलताः अध्यक्ष पाण्डे
उनले पुराना र अप्रासंगिक आर्थिक कानुन खारेज तथा संशोधन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आग्रह गरे ।
काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको आर्थिक विकासमा नीतिगत अस्थिरता र कानुनी जटिलता प्रमुख बाधक रहेको बताएका छन् ।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ साधारणसभामा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले उद्योग सञ्चालनसँग सम्बन्धित कानुन, नियम एकआपसमा बाँझिएको कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताए । उनले पुराना र अप्रासंगिक आर्थिक कानुन खारेज तथा संशोधन गर्न अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई आग्रह गरे । उनले पुँजीगत खर्च बढाउनु, आयोजना कार्यान्वयनलाई तीव्र बनाउनु तथा निजी लगानीको वातावरण सुधार गर्नु अहिलेको मुख्य चुनौती रहेको बताए । उनले सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत घोषणा गरेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था र त्यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावबारे निरन्तर निगरानीको आवश्यकता रहेको पनि बताएका हुन् । अध्यक्ष पाण्डेले आर्थिक पत्रकारितालाई समाचार सम्प्रेषणको माध्यम मात्र नभई नीति सुधार र आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदारका रूपमा लिनुपर्नेमा जोड दिए । उनले उद्योगी-व्यवसायीले भोगिरहेका समस्या र नीति कार्यान्वयनमा देखिएका कमजोरीलाई तथ्यका आधारमा सार्वजनिक बहसमा ल्याउन आर्थिक पत्रकारिताले महत्वपूर्ण भूमिका खेलिरहेको समेत बताए ।
अध्यक्ष पाण्डेले सरकारले पुराना कानून खारेज तथा सुधारतर्फ अघि बढाएको कदम सकारात्मक रहेको पनि बताए ।
