हस्तकलामा प्रधानमन्त्री शाहको चासो, रोकिएको प्रोत्साहन रकम दिन सरकार तयार

विज्ञापन
ncell

हस्तकला क्षेत्रको विकास, विस्तार, संरक्षण तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सहकार्य गरिने

हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको मूल्यांकन प्रणालीको सट्टा बिजक मूल्यांकनलाई अनिवार्य बनाउन सके राजस्व वृद्धि हुने महासंघको सुझाव छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले हस्तकला क्षेत्र नेपालको मौलिक कला, संस्कृति र रोजगारीसँग प्रत्यक्ष जोडिएको बताएका छन् । नेपाल हस्तकला व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार भएको छलफलमा प्रधानमन्त्री शाहले कला संरक्षण, सीप हस्तान्तरण, उत्पादन विस्तार तथा रोजगारी सिर्जनाका लागि हस्तकला क्षेत्रको उन्नयनमा सरकार प्रतिबद्ध रहेको बताए ।

निजी-सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्नुपर्ने महासंघको मागमा पनि प्रधानमन्त्री शाह सकारात्मक रहेको बताइएको छ ।

प्रधानमन्त्री शाह र महासंघका पदाधिकारीबीच भएको छलफलमा महासंघका प्रतिनिधिहरुले हस्तकला क्षेत्रको विकास, विस्तार, संरक्षण तथा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि सरकारसँग पूर्ण सहकार्य गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । 

प्रधानमन्त्री शाहले महासंघका पदाधिकारीहरुँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका थिए । छलफलका क्रममा महासंघले विगतदेखि आफ्नै पहलमा मंसिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मान्यता दिई औपचारिक रूपमा मनाउनुपर्ने माग गरेको थियो । प्रधानमन्त्री शाहले यस विषयमा तत्काल गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएको जानकारी महासंघले दिएको छ ।

हस्तकला सामग्री निर्यातमा हाल स्वघोषणाको आधारमा भइरहेको मूल्यांकन प्रणालीको सट्टा बिजक मूल्यांकनलाई अनिवार्य बनाउन सके राजस्व वृद्धि हुने महासंघको सुझावलाई सरकारले सकारात्मक रूपमा लिएको छ । साथै, हस्तकला सामग्री निर्यातकर्ताले पाउनुपर्ने पाँच प्रतिशत प्रोत्साहन रकम विगत तीन वर्षदेखि रोकिएको विषयमा प्रधानमन्त्री शाहले पुनः निरन्तरता दिने आश्वासन दिएको महासंघले जनाएको छ ।

महासंघले उद्योग विभाग परिसरमा निर्माण सम्पन्न भइसकेको सार्क हस्तकला विकास केन्द्रको भवन हस्तकला क्षेत्रकै प्रयोजनका लागि फिर्ता गरिनुपर्ने माग राखेका थिए । छलफलमा उपत्यकामा ‘हस्तकला ग्राम’ स्थापना गर्ने, सातै प्रदेशमा हस्तकला सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने तथा निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण गर्ने विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री शाहले यी प्रस्तावप्रति विशेष चासो देखाएको बताइएको छ।

महासंघले परम्परागत सीप तथा कलाको संरक्षण, हस्तकलाकर्मीलाई परिचयपत्र वितरण, बजार विस्तार र निर्यात प्रवर्द्धनका विषयमा समेत विभिन्न सुझाव तथा माग प्रस्तुत गरेको थियो । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढाक्वा तथा वरिष्ठ निर्यातकर्ता महेश्वर श्रेष्ठलगायत सहभागी थिए ।