कृषि प्रधान देशले धानचामल आयातमै खर्चियो वार्षिक ४० अर्ब रुपैयाँ, भारतकै दबदबा

विज्ञापन
ncell

गत वर्ष २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँबराबरको २ लाख ६३ हजार ७ सय ९४ टन तयारी चामल आयात भएको छ भने १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ बराबरको ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ ।

काठमाडौं । कृषिप्रधान देश नेपालले प्रमुख खाद्यान्नका रूपमा रहेको धान तथा चामलको आयातमै वार्षिक अर्वौं रुपैयाँ खर्च गरेको छ ।

भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८२/८३ मा नेपालले ३९ अर्ब ८९ करोड ५८ लाख रुपैयाँ बराबरको धान तथा चामल आयात गरेको छ । तर, यो आयात अघिल्लो वर्षको तुलनामा भने केही कम हो । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४० अर्ब १८ करोड ९७ लाख रुपैयाँबराबरको धान तथा चामल आयोत भएको थियो । गत वर्ष मुलुकले ७ लाख ४१ हजार ७०३ टन धानचामल आयात गरेकोमा अघिल्लो वर्ष ७ लाख ७५ हजार २६८ टन धानचामल आयात गरेको थियो । यद्यपी पछिल्ला वर्षहरुमा धान आयात घट्दै गएपनि तयारी चामलको आयात भने बढिेरहेको छ ।

गत वर्ष २० अर्ब ७४ करोड ९८ लाख रुपैयाँबराबरको २ लाख ६३ हजार ७ सय ९४ टन तयारी चामल आयात भएको छ भने १९ अर्ब १४ करोड ५९ लाख रुपैयाँ बराबरको ४ लाख ७७ हजार ९ सय ९ टन धान आयात भएको छ । नेपालको धानचामल आयातमा दक्षिणी छिमेकी मुलुको दबदबा छ र करिव ९९ प्रतिशत धाचामल आयात भारतबाटै हुने गर्दछ । आर्थिक वर्ष २०८२/८३ मा ४ लाख ७४ हजार ९१५ टन धान नेपाल भित्रिएकोमा सबै भारतबाट आएको छ । त्यसैगरी ७१ हजार ६ सय २२ टन बासमती चामल आयात भएकोमा ७१ हजार ६१७ टन भारतबाटै आएको छ । बाँकी ५ टन चीन र कतारबाट आएको देखिन्छ ।

गत वर्ष १ लाख ८३ हजार १ सय १० टन तयारी चाम नेपाल भित्रिएकोमा भारतबाट मात्रै १ लाख ८२ हजार ४ सय ५ टन आएको छ । त्यसबाहेक भियतनामबाट ६० ९ टन, चीन ६६ टन, थाइल्यान्ड २६ टन र इटालीबाट करिब ३ टन तयारी चामल आयात भएको छ । त्यस्तै, ९ हजार ५२ टन कनिका आयात भएकोमा (चीनबाट ५ सय किलो बाहेक) सबै भारतबाटै आयात भएको छ ।