नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटनसँगै नेपालमा सुरुङ युगको नयाँ अध्याय– कहिलेसम्म लाग्दैन शुल्क ?
यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।
काठमाडौं । नेपालको यातायात पूर्वाधारको इतिहासमा एक महत्वपूर्ण कोशेढुङ्गा पार गर्दै नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ । ‘अपरेसनल’ तथा ‘मेन्टिनेन्स’ परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि सोमवार आयोजित एक समारोहका बीच यस सुरुङमार्गको उद्घाटन भएसँगै नेपाली जनताको आधुनिक सुरुङमार्गमा सवारी गुडाउने दशकौँ पुरानो सपनाले मूर्त रूप पाएको हो । नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा रहेको यस आयोजनाको सञ्चालनले मुलुकलाई विधिवत रूपमा सुरुङ मार्गको युगमा प्रवेश गराएको छ । यातायात व्यवसायी तथा पूर्वाधार विज्ञहरूले यसलाई नेपाली सडक यातायात क्षेत्रको ठूलो उपलब्धिका रूपमा चित्रण गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नागढुङ्गा सुरुङमार्गको उद्घाटनप्रति खुशी व्यक्त गर्दै सरकारले देशभरका अन्य निर्माणाधीन सुरुङमार्गलाई पनि ‘फास्ट ट्रयाक’मा अघि बढाउनुपर्ने बताए । उनले यस आयोजनाले समयको वचत गर्नुका साथै नागढुङ्गाको कठिन सडक खण्डमा हुने सम्भावित दुर्घटनाको जोखिमलाई न्युन गर्ने विश्वास व्यक्त गरे ।
यद्यपि, सुरुङमार्ग प्रयोग गरेबापत सार्वजनिक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्कप्रति उनले असन्तुष्टि व्यक्त गरेका छन् । उनले सुरुङमार्ग प्रयोग गर्ने सार्वजनिक यात्रुवाहक तथा मालवाहक सवारीसाधनका लागि निर्धारण गरिएको शुल्क पुनर्विचार गर्न पनि सरकारलाई आग्रह गरे । उनले सुरुङमार्ग प्रयोग गर्ने सवारीको लागि तोकिएको शुल्क धेरै बढी भएको गुनासो आएको बताउँदै सुरुङमार्ग सञ्चालन खर्च र सार्वजनिक यातायात व्यवसाय दुवैलाई असर नपर्ने गरी शुल्क निर्धारण गर्न आग्रह गरे । उनले सरकारले देशभरका अन्य सुरुङमार्ग निर्माणको कार्य समेत तिब्र गतिमा अघि बढाउनुपर्ने बताए ।
सडक विभागका महानिर्देशक डा। विजय जैसीकाअनुसार सुरुङमार्ग हाल केही दिनका लागि परीक्षण (ट्रायल) को चरणमा रहनेछ । उहाँले सुरुङमार्ग पूर्ण रूपमा सर्वसाधारणका लागि खुला नभएसम्म कुनैपनि शुल्क नलिइने स्पष्ट पारे । उनले सुरुङमार्गको अन्तिम चरणको प्राविधिक परीक्षण (मक ड्रिल) बाँकी रहेको भन्दै केही दिनमै सबै प्रकारका सवारीको लागि सुरुङमार्ग सञ्चालन गरिने बताए । उनले सुरुङमार्गको आयु (डिजाइन लाइफ) एक सय वर्ष रहेको पनि उल्लेख गरे ।
पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नेपालको भौगोलिक जटिलताका कारण सुरक्षित र छिटो यात्राका लागि सुरुङमार्ग अपरिहार्य रहेको बताए । उनकाअनुसार चालू आर्थिक वर्षभित्रै निर्माणाधीन ९ सय मिटर लामो सिद्धबाबा सुरुङमार्ग पनि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । सुरुङमार्ग सञ्चालनको लागत र शुल्कबारे स्पष्ट पार्दै सचिव सिग्देलले सुरुङभित्र सुरक्षा, निगरानी र वायुको गुणस्तर कायम राख्न २४ सै घण्टा प्राविधिक जनशक्तिको उपस्थिति आवश्यक पर्ने भएकाले यसको सञ्चालन खर्च तुलनात्मक रूपमा बढी हुने बताए तर भविष्यमा धेरै सुरुङमार्गहरू सञ्चालनमा आएपछि एउटै एकीकृत व्यवस्थापन प्रणालीमार्फत लागत घटाउन सकिने उनको भनाइ छ । हाल काठमाडौं-तराई फास्ट ट्रयाकलगायत अन्य ६ वटा सुरुङमार्गको निर्माण कार्य पनि द्रुत गतिमा अघि बढिरहेको उहाँले जानकारी दिए ।
सडक विभागकाअनुसार कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । मिनीबस, ट्रक र टिपरले काठमाडौँतर्फ आउँदा १ सय १५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ बराबरको शुल्क बुझाउनुपर्नेछ । यस्तै, बस, ट्रकले काठमाडौँ आउँदा २ सय ६० रुपैयाँ र बाहिरिँदा २ सय रुपैयाा बराबरको शुल्क तिर्नुपर्नेछ । सुरुङमार्गभित्र सुरक्षाका कारण मोटरसाइकल, दुईपाङ्ग्रे, तीनपाङ्ग्रे सवारीसाधन र पैदलयात्रीलाई प्रवेश निषेध गरिएको छ। साथै, प्रज्वलनशील एवं विस्फोटक पदार्थ बोकेका सवारीसाधनले पनि यस मार्गको प्रयोग गर्न पाउने छैनन् । वि.सं. २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट शिलान्यास गरिएको यस आयोजनाको शुरुवाती लागत करिव २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । यद्यपि, निर्माणका क्रममा आइपरेका भूगर्भीय समस्या, डिजाइनमा गरिएका परिमार्जन र अन्य प्राविधिक कारणले गर्दा यसको कुल लागत २७ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । खर्चको हिसावले चुनौतीपूर्ण देखिए पनि यस सुरुङमार्गले नेपालको आधुनिक पूर्वाधार विकासमा एक नयाँ मानक स्थापना गरेको छ ।
